काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ। सोमबार र मंगलबार बसेको दुईदिने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानको धारा ८ र ९ अनुसार भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने बताउँदै उनलाई राजनीतिमा नल्याउने निर्णय सुनाएका हुन्।
तर, ओलीको यो निर्णयमा पार्टीका तीन नेताहरू — उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले खुला असहमति जनाएका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र पाण्डेका अनुसार ती नेताहरूले बैठकमै उभिएर औपचारिक रूपमा फरक मत राखेका थिए।
यसैबीच, पूर्वराष्ट्रपति भण्डारीले मंगलबार पत्रकार सम्मेलन गरी आफू सक्रिय राजनीतिमा फर्किसकेको स्पष्ट पार्दै पार्टीको निर्णयको आलोचना गरेकी छन्। निवास भंगालमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्तालाई विभाजित गर्न खोजिएको आरोप लगाइन्।
उनले पार्टीभित्र ग्रुपिजम र आतंकको वातावरण सिर्जना गरिएको भन्दै असन्तुष्टि प्रकट गरिन्। भण्डारीले भनिन्, “दल अनैतिक अखडा हो? उच्च नैतिकताको मान्छे दलमा आए दल पनि नैतिकतावान हुन्छ नि।” साथै, कार्यकर्तालाई बोल्न नदिने र बोलेबापत कारबाही गर्ने प्रवृत्तिप्रति उनले आपत्ति जनाइन्।
पूर्वराष्ट्रपति तथा एमाले नेतृको रूपमा सक्रियता देखाउन थालेकी भण्डारीको भूमिकालाई लिएर एमालेभित्र मतभेद चुलिएको छ। पार्टी नेतृत्वको निर्णय र भण्डारीको स्पष्ट असहमतिको सन्देशले आगामी दिनमा एमालेभित्र आन्तरिक शक्ति सन्तुलनमा असर पार्ने अनुमान गरिएको छ।
Comment