१६४ देशसँग व्यापार गर्दा १२७ देशसँग नेपालले बेहोर्‍यो घाटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपालले आर्थिक वर्ष २०८१/८२ मा विश्वका १६४ देशसँग व्यापार गरेको छ, तर तीमध्ये १२७ देशसँग घाटा बेहोरेको छ भने केवल ३७ देशसँग मात्र व्यापार नाफामा रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

यो अवधिमा नेपालले कुल २० खर्ब ८१ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार गरेको छ। त्यसमध्ये आयात १८ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढी रहँदा निर्यात २ खर्ब ७७ अर्ब रुपैयाँमै सीमित भएको छ। यसरी देशको कुल व्यापार घाटा १५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।

नेपालले नाफा गरेको ३७ देशमध्ये सबैभन्दा बढी नाफा अफगानिस्तानसँग भएको छ। नेपालले अफगानिस्तानमा ७७ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा निर्यात गर्दा त्यहाँबाट करिब ८ करोड रुपैयाँको मात्र आयात गरेको छ। त्यसपछि डेनमार्क, रुस, रोमानिया, अस्ट्रिया, लाओस र आइसल्यान्डसँग पनि नेपालले उल्लेख्य नाफा गरेको छ। यीमध्ये डेनमार्कसँग ३३ करोड, रुससँग ७ करोड, रोमानियासँग ६ करोडभन्दा बढी नाफा भएको छ। केही देशसँग भने अत्यन्तै सानो मात्रामा नाफा भएको छ, जसमध्ये बर्मुडासँगको नाफा जम्मा ३८ हजार रुपैयाँमा सीमित छ।

अर्कोतर्फ, नेपालले सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग बेहोरेको छ। भारतसँगको व्यापारमा घाटा मात्रै ८ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ। भारतबाट १० खर्ब ७१ अर्ब रुपैयाँको आयात हुँदा निर्यात २ खर्ब २४ अर्ब रुपैयाँमा सीमित भएको छ। चीन र अर्जेन्टिना पनि व्यापार घाटाको दृष्टिकोणले क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। चीनसँग ३ खर्ब ३८ अर्ब र अर्जेन्टिनासँग करिब ९९ अर्ब रुपैयाँ घाटा देखिएको छ।

यस तथ्यांकले नेपालको व्यापार समिकरण अत्यन्त असन्तुलित रहेको प्रस्ट हुन्छ। निर्यात वृद्धिको लागि उत्पादन क्षमताको विस्तार, वैदेशिक बजारको खोजी र प्रतिस्पर्धात्मक नीतिहरू अवलम्बन गर्नुपर्ने आवश्यकता झनै बलियो बनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।