काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज साउन ६ गतेदेखि हकप्रद शेयरको विक्री खुला गरेको छ। कम्पनीले हालको चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँमा १०ः३.४७८३ अनुपातमा ३४.७८ प्रतिशतले हुन आउने हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
यस योजनाअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता शेयर अर्थात ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्दैछ। यसमा हाल कायम शेयरधनीहरूले आवेदन दिन सक्नेछन्।
कम्पनीका अनुसार लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो शेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडका केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिनेछ।
यो हकप्रद शेयरमा साउन २६ गते सम्म आवेदन दिन सकिनेछ। यसका लागि कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो, जसअनुसार जेठ २९ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन योग्य छन्।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूका लागि तोकेको न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजीको सीमा कम्पनीले हकप्रद बिक्रीपछि पूरा गर्नेछ।
नेपाल इन्स्योरेन्सको यो हकप्रद निष्कासनले कम्पनीको पूँजी आधार बलियो बनाउने विश्वास गरिएको छ, जसले दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमता बढाउने अपेक्षा गरिएको छ।
Comment