काठमाडौँ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले पहिलो चरणको प्राथमिक सेयर (आइपीओ) आज साउन ६ गतेदेखि निष्कासन सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आइपीओ जारी गरेको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस आइपीओअन्तर्गत कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता सेयर, प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा, अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्दैछ।
कम्पनीले यसमध्ये ५ लाख ६६ हजार ५०० कित्ता सेयर तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका वडा नं. १ र गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ का स्थानीयबासीका लागि छुट्याएको छ। यी स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, कम्पनीको कालिमाटीस्थित कार्यालय, बन्दीपुर केबलकारको तल्लो स्टेशन तथा सम्बन्धित पालिकाका कार्यालयहरूबाट दिन सकिनेछ। स्थानीयका लागि आवेदन अवधि छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म रहनेछ।
यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको ५२ लाख ९४ हजार कित्तामध्ये ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। उनीहरूले पनि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था र मेरो शेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। उनीहरूको लागि आइपीओ निष्कासन छिटोमा साउन ९ गते र ढिलोमा भदौ २० गते बैंकिङ समयपछि बन्द हुनेछ।
यस आइपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। बन्दीपुर केबलकार एन्ड टुरिजमले तनहुँको प्रमुख पर्यटकीय क्षेत्र बन्दीपुरमा केबलकार सञ्चालन गर्दै आएको छ, र आइपीओबाट प्राप्त पूँजी कम्पनीको पूर्वाधार विस्तार तथा सेवा सुधारमा उपयोग गरिने अपेक्षा गरिएको छ।
Comment