काठमाडौँ । नेपाल राष्ट्र बैंकले चेक काट्नुअघि आफ्नो खातामा मौज्दात रकम हेर्न सबै बैंक खातावालालाई आग्रह गरेको छ। केन्द्रीय बैंकले सोमबार जारी गरेको वित्तीय सचेतनामूलक सूचनामार्फत खातामा पर्याप्त रकम नहुँदै चेक काट्दा हुने कानुनी जोखिमबारे सतर्क गराएको हो।
‘चेक अनादरबापत हुने कानुनी सजायबाट बचौं,’ राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार खातामा रकम नभएको वा भुक्तानी गर्न पर्याप्त नहुँदै कसैलाई चेक जारी गर्नु कानुनी रूपमा आपत्तिजनक कार्य हो। यस्ता चेकको भुक्तानी नभएमा बैंक, वित्तीय संस्था वा सहकारी बैंकले चेक जारीकर्तालाई बढीमा ४५ दिनको समय दिन सक्नेछ।
यदि सो समयमा पनि खातामा रकम नजम्मा भएमा सम्बन्धित बैंकले तीन दिनभित्र चेक अनादर भएको प्रमाणसहित चेक धारकलाई फिर्ता गर्नुपर्ने व्यवस्था छ।
चेक अनादर भएपछि चेक जारीकर्ताले चेकधारकलाई सो बमोजिमको रकम, चेक जारी मितिदेखि रकम भुक्तानी मितिसम्मको ब्याज र बिगोको ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ। साथै, कानुनअनुसार कैद सजायसमेत हुन सक्ने व्यवस्था रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकले नागरिकलाई जिम्मेवार र सचेत रहन आग्रह गर्दै आर्थिक व्यवहार गर्दा सावधानी अपनाउन सुझाव दिएको छ।
Comment