काठमाडौँ । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वन्धी आचार संहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार संघले ‘अनलाइन टिभी एआई आचार संहिता २०८२’ जारी गरेको हो ।
काठमाडौमा सोमबार आयोजित आचार संहिता घोषणा समारोहमा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचार संहिता घोषणा गरे ।
एआईको दुरुपयोग न्यूनिकरण गर्ने र एआईको प्रयोगलाई सही बाटोतर्फ लैजानका लागि आचार संहिताको आवश्यकता भएकाले एआई आचार संहिता जारी गरिएको भण्डारीले बताए ।
उनका अनुसार एआईको प्रयोग अनलाइन टिभीहरुमा बढ्ने संभावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीहरुलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचार संहिताको आवश्यकता महसुस गरिएको हो ।
मिडिया सम्वन्धी धेरै काममा नेपालको पहिलो एआई अभ्यासकर्तासमेत रहेका भण्डारीले एआई सम्वन्धी नेपालको पहिलो आचार संहिता नै अनलाइन टिभी एआई आचार संहिता भएको दावी समेत गरे ।
सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासंघका बरिष्ठ उपाध्यक्ष चिरन्जीवी अधिकारीले पनि अनलाइन टिभी एआई आचार संहिता नै नेपालको पहिलो एआई आचार संहिता भएको जानकारी दिए । उनले अरु कुनै पनि संस्था वा निकायले एआई सम्वन्धी आचार संहिता जारी गरेको महासंघलाई अहिलेसम्म जानकारी नरहेको स्पष्ट पारे ।
अनलाइन टिभी पत्रकार संघले एआई आचार संहिता जारी गरेर अनुकरणीय बाटो देखाएको उल्लेख गर्दै उनले अधिकारीले भने, ‘यस्तै अभ्यास सबै क्षेत्रका अत्यावश्यक भइसकेको छ ।’
संघले जारी गरेको आचार संहितामा प्रस्तावित राष्ट्रिय एआई नीति २०८१ का मर्म र उद्धेश्यलाई समेत मध्यनजर गर्दै एआई आचार संहिता जारी गरिएको उल्लेख छ ।
एआईको सहयोगमा बनाइएका सम्पूर्ण सामग्रीको अन्तिम परिक्षण, सम्पादन तथा अनुमोदन मानव जनशक्ति अर्थात सम्पादकबाट नै गरिने र त्यसपछि मात्रै प्रकाशित गरिने आचार संहिताको पहिलो बुँदामा लेखिएको छ ।
त्यसैगरी एआईद्वारा सिर्जित सामग्रीको जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिने र एआईको प्रयोग भएको सामग्रीमा यसको स्पष्ट जानकारी दिइने पनि आचार संहितामा उल्लेख गरिएको छ ।
व्यक्तिगत गोपनीयता, चरित्र, अश्लील, संवेदनशील, निजी वा सुरक्षासम्बन्धी सूचना प्रवाह गर्दा प्रचलित कानुनको पालनामा विशेष सावधानी अपनाइने र भ्रम सिर्जना गर्ने, पक्षपातपूर्ण वा झुटा जानकारी प्रवाह गर्नेगरी एआईको प्रयोग नगरिने प्रतिवद्धता अनलाइन टिभी पत्रकार संघले गरेको छ ।
अनलाइन टिभी पत्रकार संघमा आबद्ध सबै अनलाइन टिभी पत्रकारहरुले यो आचार संहिता अनिवार्य पालना गर्नु पर्ने र त्यसको अनुगमन संघले आफ्नो तरिकाले गरिरहनेलगायतका विषय आचार संहितामा लेखिएको संघका बरिष्ठ उपाध्यक्ष संजीव रेग्मीले जानकारी दिए ।
आचार संहिता यस संघका सवै सदस्यहरुका लागि बाध्यकारी र अन्य एआई प्रयोगकर्ताहरुका लागि अनुकरणीय हुने संघका महासचिव पवन फुयालको भनाइ छ ।
इन्टरनेटमा भिडियो पत्रकारिता गर्दै आइरहेका सञ्चारकर्मीहरुको पहिलो र साझा संस्थाको रुपमा रहेको अनलाइन टिभी पत्रकार संघले यसअघि २०७७ सालमै अनलाइन टिभी स्वनियमन निर्देशिका पनि जारी गरेको थियो ।
यस्तो छ अनलाइन टिभी एआई आचार संहिता-२०८२
प्रस्तावना
नेपाली सञ्चार माध्यमहरुमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग दिनप्रति दिन बढ्दै गइरहेको छ । सञ्चारकर्मीहरुले डाटा, सूचना, फोटो, भिडियो, अडियो आदी संकलन, लेख, समाचार, स्क्रिप्ट, शिर्षक लेखन र सम्पादन, अनुवादन, आवाज रूपान्तरण, अडियो, फोटो, भिडियोको कटिङ तथा सम्पादन, ग्राफिक्स, म्याप आदी निर्माण, समाचार सामग्रीहरु प्रकाशन तथा प्रसारण आदी कामका लागि एआईको प्रयोग गर्न थालेको देखिएको छ ।
यसले पत्रकारिताको लागि सहज त बनाएको छ । तर पत्रकारिताको विश्वसनीयता, उत्तरदायित्व र जिम्मेवारीबारे समस्याहरु बढाउने जोखिम पनि देखिएको छ । त्यसैले एआईको सही र जिम्मेवार प्रयोग गर्न प्रेरित गर्ने उद्धेश्यले अनलाइन टिभी पत्रकार संघको तर्फबाट यो आचारसंहिता जारी गरिएको हो ।
इन्टरनेटमा भिडियो पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको पहिलो साझा संस्थाको रुपमा रहेको यस अनलाइन टिभी पत्रकार संघले सञ्चार माध्यमहरुमा एआईको सदुपयोग बढाउन र गलत प्रयोगलाई न्यूनीकरण गर्न यो आचार संहिताले योगदान पुर्याउने अपेक्षा गरेको छ ।
प्रस्तावित राष्ट्रिय एआई नीति २०८१ का मर्म र उद्धेश्यलाई समेत मध्यनजर गर्दै संघको २०८२ असार १९ गतेको केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेर विधान बमोजिम यो अनलाइन टिभी एआई आचार संहिता २०८२ जारी गरिएको हो ।
क. उत्तरदायित्व र पारदर्शिता सम्वन्धमा
१. एआईको सहयोगमा बनाइएका सम्पूर्ण सामग्रीको अन्तिम परिक्षण, सम्पादन तथा अनुमोदन मानव जनशक्ति अर्थात सम्पादकबाट नै गरिनेछ र त्यसपछि मात्रै प्रकाशित गरिनेछ ।
२. एआईद्वारा सिर्जित सामग्रीको जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिइनेछ।
३. एआईको प्रयोग भएको सामग्रीमा यसको स्पष्ट जानकारी दिइनेछ ।
ख. श्रम, शिक्षा, सिप र सचेतना सम्वन्धमा
४. एआई प्रयोग गर्न पत्रकारहरूको सिप र क्षमता बढाइने छ र यसबाट रोजगारीमा असर नपर्ने तर्फ विशेष ध्यान दिइने छ ।
५. एआईको प्रयोग गर्दा कसैको प्रतिलिपि अधिकार उलंघन नहुने तर्फ सतर्कता अपनाइने छ ।
६. एआईको नैतिक र जिम्मेवार प्रयोगका लागि पैरवीकर्ताको रुपमा नेतृत्वदायी भूमिका खेलिने छ ।
ग. सावधानी र गुनासो सम्वन्धमा
७. व्यक्तिगत गोपनीयता, चरित्र, अश्लील, संवेदनशील, निजी वा सुरक्षासम्बन्धी सूचना प्रवाह गर्दा प्रचलित कानुनको पालनामा विशेष सावधानी अपनाइनेछ ।
८. भ्रम सिर्जना गर्ने, पक्षपातपूर्ण वा झुटा जानकारी प्रवाह गर्नेगरी एआईको प्रयोग गरिने छैन ।
घ. पालना र परिमार्जन सम्वन्धमा
९. अनलाइन टिभी पत्रकार संघमा आबद्ध सबै अनलाइन टिभी पत्रकारहरुले यो आचार संहिता अनिवार्य पालना गर्नु पर्नेछ । त्यसको अनुगमन संघले आफ्नो तरिकाले गरिरहने छ।
१०. आचार संहिताप्रति अनलाइन टिभी पत्रकारहरुलाई जिम्मेवार बनाउन र दर्शक, पाठक श्रोताको विश्वसनीयता बढाउन यो आचार संहिता सबै सदस्यहरुले आफ्नो सञ्चार माध्यमको कुनै ठाउँमा उपभोक्ताले सधैँ पढ्न मिल्नेगरी प्रकाशित गर्नुपर्ने छ ।
११. संघमा आबद्द सबै सञ्चार माध्यमहरुले एआईका सम्वन्धमा दर्शक स्रोताहरुको गुनासो राख्ने र सम्वोधन गर्ने व्यवस्था गर्नुपर्ने छ । सञ्चार माध्यमबाट गुनासोको उचित सम्वोधन नभएमा संघले छानबिन गरी कारबाही वा सिफारिस गर्न सक्नेछ ।
१२. यो आचार संहिताको आवधिक समिक्षा गरिने छ भने अभ्यास, अनुभव, सुझाव, प्रविधिको विकासका आधारमा आवश्यकता अनुसार पुनरावलोकन तथा परिमार्जन गर्न सकिनेछ ।
जारी मिति: २०८२ साउन ५ गते
जीवन भण्डारी
अध्यक्ष,
अनलाइन टिभी पत्रकार संघ, नेपाल
Comment