राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी नयाँ व्यवस्था – के छन् ? मार्गदर्शन २०८२ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूका लागि ‘लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितका अनुसार, यो मार्गदर्शन लाभांश वितरण प्रक्रियालाई पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउने उद्देश्यले ल्याइएको हो। राष्ट्र बैंकले आर्जन गरिएको मुनाफाको बाँडफाँड तथा पुनः लगानी प्रक्रियालाई प्रभावकारी बनाउँदै सम्बन्धित संस्थाको जोखिम वहन गर्ने क्षमता र कार्यक्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

मार्गदर्शन अनुसार, अब सम्बन्धित संस्थाहरूले सञ्चालक समितिबाट पारित लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गर्नुपर्नेछ। त्यस्तो नीतिमा नियामकीय पूँजीको योजना, नगद र शेयर लाभांशको नीति, जोखिम बहन कोष तथा जगेडा कोषको स्पष्ट व्यवस्था समेटिनुपर्नेछ। यस्ता कोषमा मुनाफाको निश्चित प्रतिशत छुट्याउनुपर्नेछ, जसले अप्रत्याशित जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ। कोषबाट खर्च गरिएको रकमको विवरण राष्ट्र बैंकलाई नियमित रूपमा बुझाउनुपर्नेछ।

यसैगरी, भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्थाले पूर्वाधार विकास कोषको स्थापना गरी मुनाफाको केही अंश उक्त कोषमा जम्मा गर्नुपर्नेछ, र सो रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिने व्यवस्था गरिएको छ। लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको, पर्याप्त नगद मौज्दात रहेको र कर्जासम्बन्धी शर्तहरूले वितरणमा रोक नलगाएको सुनिश्चित गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ। राष्ट्र बैंकले प्रस्तुत गरेको यो मार्गदर्शनले भुक्तानी प्रणालीसम्बन्धी संस्थाहरूलाई दीर्घकालीन स्थायित्व, उत्तरदायित्व र सुरक्षित सेवा प्रणालीतर्फ अग्रसर गराउने विश्वास लिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।