माधवप्रसाद घिमिरे
ललितपुर । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रका नीतिगत तथा व्यवहारिक चुनौतीहरू पहिचान गरी समाधान ल्याउने उद्देश्यका साथ “शिक्षा प्रणाली प्रयोगशाला (आईल्याव)” को तेस्रो चरणको कार्ययोजना सुरु गरिएको छ।
नेपालमा सन् २०२३ देखि सुरु गरिएको आईल्याव अन्तर्गत संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, उद्योगी, शिक्षालय, र सरोकारवालाहरूको सहभागिता रहने जानकारी दिइएको छ। ६ महिनासम्म सञ्चालन हुने उक्त परियोजनाको शुभारम्भ अवसरमा ललितपुरको गोदावरीमा आयोजित दुई दिने कार्यशालाको दोस्रो दिन आइतबार आयोजना गरिएको थियो।
कुसोडका सहायक डीन डा। प्रकाश चन्द्र भट्टराईले देशभरबाट खुला आवेदनमार्फत छानिएका सहभागीहरूलाई समेटेर प्रदेशगत रूपमा ६ देखि ८ सदस्यीय समूह बनाएर प्रतिस्पर्धा गरिने जानकारी दिए। उनले सहभागी समूहमध्ये उत्कृष्ट ६ देखि ८ वटा समूह छनोट गरिने र ती समूहहरूले आ–आफ्नो कार्यक्षेत्रमा लागू गर्न सकिने योजना तयार गरी प्रस्तुत गर्ने बताए। आईल्याव अन्तर्गत ती योजनाहरूमा छलफल गरी कार्यान्वयनमा लगिने उनको भनाइ थियो।
कार्यशालामा सहभागी लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्वासे के।सी।ले नेपालको सन्दर्भमा प्राविधिक शिक्षामा स्पष्ट नीति र दीर्घकालीन योजना अभाव रहेको उल्लेख गर्दै बजारको माग अनुसार दक्ष जनशक्ति तयार गर्न यस परियोजनाले योगदान पुर्याउने बताए। उनले संघसंस्था, प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरणमार्फत समन्वय गर्न सहयोग पुर्याएको र प्राविधिक शिक्षामा देखिएको नकारात्मक धारणा तोड्न परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पछाडि पारिएका तथा सीमान्तकृत समुदायको उद्यमशीलता र क्षमता अभिवृद्धिमा यो परियोजनाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले गाउँघरको आवश्यकता अनुसार तालिम प्रदान गरी प्रशिक्षण दिने जनशक्ति तयार गर्ने र त्यसै आधारमा स्थानीय स्तरमा थप तालिम सञ्चालन गरिने बताए।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले प्राविधिक सीप मात्र दिइराखेर समाधान नहुने र त्यसका लागि रोजगारीसँग जोडिएको तालिम आवश्यक रहेकोमा जोड दिए। उनले “मिशन रोजगारी” अभियान अन्तर्गत नगरपालिकाले धुप बनाउने तालिम, ईभी मर्मत तालिम र पाँच स्थानमा तालिम स्टेसन सञ्चालनको तयारी गरेको जानकारी दिए। साथै, नगरपालिकाले युवालाई रोजगारी दिनसक्ने गरी तालिमसहित उपकरण र अनुदानसमेत प्रदान गर्दै आएको जानकारी दिए।
कार्यशालामा सहजीकरण गर्दै पूर्व डीन तथा प्राध्यापक डा। महेशनाथ पराजुलीले मानव सभ्यताको विकास सिकाइ प्रक्रियासँगै भएको उल्लेख गर्दै शिक्षालाई समावेशी र सबैको पहुँचमा पुर्याउनुपर्ने आवश्यकता औंल्याए। उनले यो छ महिनाको परियोजना केवल प्रतिवेदनमै सीमित नबसी दीर्घकालीन असर पार्ने प्रणालीको रूपमा विकास हुनुपर्नेमा जोड दिए।
कुसोडको प्राविधिक शिक्षा स्नातकोत्तर तहका सम्पर्क व्यक्ति डा। प्रकाश कुमार पौडेलले परियोजनामा प्राविधिक शिक्षा क्षेत्रमा कार्यरत विज्ञ र विभिन्न सरोकारवाला संस्थाहरूको सहकार्य रहेको जानकारी दिए।
गत शुक्रबार आयोजित उद्घाटन समारोहमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा।डा। अच्युत प्रसाद वाग्लेले श्रम गर्नेहरूप्रति सम्मान जगाउने र देशप्रेम जगाउन सक्ने शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। उनले त्यसो गर्न सकिएमा मात्र मुलुक समृद्धितर्फ उन्मुख हुने विश्वास व्यक्त गरे।
कार्यशालाका सहभागीहरूले प्राविधिक शिक्षा सबै वर्गको पहुँचमा पुग्न सक्ने आर्थिक मोडेलमा विकास गर्नुपर्ने, यसलाई कार्यान्वयन गर्न राजनीतिक प्रतिबद्धता र सामाजिक स्वीकार्यता आवश्यक रहेको धारणा राखेका थिए।
Comment