काठमाडौं । नेपाल मेडिकल काउन्सिलको नाममा नक्कली पत्र बनाएर चिकित्सक लाइसेन्स परीक्षा पास भएको देखाउने एक घटनाबारे अनुसन्धान सुरु भएको छ। काउन्सिलको लेटरप्याडमा र रजिष्ट्रार डा. सतिश देवको हस्ताक्षरसहित तयार पारिएको पत्र शंकास्पद देखिएपछि सो विषयलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा पठाइएको हो।
डाली युनिभर्सिटी, चीनबाट एमबीबीएस उत्तीर्ण गरेका सीडी भूषालले काउन्सिलको लेटरप्याडमा परीक्षा पास भएको पत्र प्राप्त गरे पनि काउन्सिलको अनलाइन प्रणालीमा आफू फेल भएको देखिएको भन्दै अध्यक्ष डा. चोपलाल भूषाललाई निवेदन दिएका थिए। काउन्सिलले उक्त निवेदन र संलग्न कागजातमा शंका लागेपछि कानुनी प्रक्रिया अगाडि बढाएको हो।
डा. चोपलाल भूषालका अनुसार, “एक विद्यार्थीले परीक्षा फेल भएको अवस्थामा पास भएको पत्र पाएर हामीलाई निवेदन दिएका थिए। त्यसपछि हामीले त्यसमा देखिएका असमानताहरूको जाँचका लागि विषयलाई CIB मा पठाएका हौं।”
सीडी भूषालको निवेदन अनुसार, आफूलाई पुनर्योग गर्न सुझाव दिने, फारम भर्ने जिम्मा लिने, र पास भएको पत्र दिने व्यक्ति स्पिड इन्टरनेसनलका मिलन ज्ञवाली रहेका छन्। ज्ञवालीले आफूलाई काउन्सिलको बाँसबारी कार्यालयमा बोलाई लाइसेन्स दिन लागिएको बताएका थिए।
भूषालले काउन्सिलमा बुझाएको पत्र अनुसार, परीक्षा २०८१ कात्तिक २८ गते उत्तीर्ण भएको देखाइएको छ। तर, सो पत्रमा काउन्सिलको छाप, लेटरप्याड, रजिष्ट्रार डा. देवको हस्ताक्षर प्रयोग गरिएको भए पनि काउन्सिलले यस्ता कुनै पत्र नदिएको स्पष्ट पारेको छ।
रजिष्ट्रार डा. सतिश देवका अनुसार, “काउन्सिलको छाप, लेटरप्याड र मेरो हस्ताक्षर दुरुपयोग गरिएको छ। यो पत्र काउन्सिलबाट जारी गरिएको होइन। सीडी भूषाल बाहेकका अन्य विवरण पनि गलत छन्।”
काउन्सिलले उक्त पत्रमा उल्लेखित सीडी भूषालको नाम र सिम्बोल नम्बर बाहेक अरू सात जनाको विवरण समेत गलत रहेको जनाएको छ। यसअघि पनि काउन्सिलले पत्रमार्फत जानकारी गराइसकेकोमा अहिले दोस्रोपटक कागजातसहितको स्पष्टीकरणसहित CIB मा उजुरी दिएको हो।
Comment