काठमाडौं । ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ ।
यससँगै आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंकको रूपमा ज्योति विकास बैंक बनेको छ ।
अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था इन्टरसर्टले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि अत्यन्त प्रसिद्ध अन्तर्राष्ट्रिय सर्टिफिकेशन हो। यस उपलब्धिले ज्योति विकास बैंकको समष्टिगत सूचना सुरक्षा संरचना उत्कृष्ट रहेको सुनिश्चितता प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकले मोबाइल बैंकिङ्ग, कार्ड भुक्तानी सेवा, निक्षेप तथा कर्जा सेवा तथा बैंकको आईटि, मानव संशाधन , डिजिटल बैंकिङ्ग, सामान्य प्रशासन, अपरेशन तथा जोखिम व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको उच्चतम र गुणस्तरिय सूचना सुरक्षा प्रणाली लागू गर्दै आएकाले इन्टरसर्ट को यस सुरक्षा सर्टिफिकेसन प्राप्त गर्न सफल भएको हो। यस सँगै ज्योति विकास बैंकको सूचना सुरक्षा अन्तर्राष्ट्रिय स्तरको रहेको सर्टिफाइ भएको छ। साथै, आईएसओ २७००१:२०२२ सर्टिफिकेशनले बैंकप्रति ग्राहकवर्ग थप विश्वस्त हुने आधार निर्माण गरेको बैंकले जनाएको छ।
आफ्नो सुरक्षात्मक प्रणाली, अभ्यास र नियन्त्रण नितिहरुलाई गहन परिक्षण गराउदैं उक्त प्रमाणपत्र प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ । इन्टरसर्टले यस विकास बैंकको सूचना सुरक्षा उपायहरुलाई प्राविधिक रुपमा बलियो, समसामयिक र जोखिम न्युन रहेको ठहर गर्दै उक्त सर्टिफिकेसन प्रदान गरेको बैंकले जनाएको छ । ज्योति विकास बैंकले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिँदै आएको छ ।
ग्राहकहरुको सुविधाको लागि डिजिटल बैंकिङ्गमा सक्रिय रुपमा नयाँ प्रविधिहरु विस्तार गरिरहेको यस विकास बैंकले सूचना सुरक्षा, साइबर जोखिम विरुद्ध निवारक प्रणाली, निरन्तर सुधारात्मक निति तथा नियामक निकायहरुको व्यवस्था अनुपालनमा कुनै सम्झौता नगरी बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।
Comment