काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ अष्ट्रेलियाको ए–लिग खेल्ने न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आबद्ध भएकी छन्। उनी सन् २०२५–२६ सिजनका लागि अनुबन्ध भएकी हुन्।
वेलिंगटन फिनिक्स यद्यपि न्युजिल्याण्डको क्लब हो, तर यो अष्ट्रेलियाको शीर्ष डिभिजन महिला लिग (ए-लिग) मा नियमित सहभागिता जनाउँदै आएको छ। साम्बाको यस क्लबसँगको अनुबन्ध नेपाली महिला फुटबल इतिहासमै अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ।
यसअघि साम्बाले फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबबाट दुई सिजन खेलेकी थिइन्। फ्रान्स जानुअघि उनले इजरायलको हापोएल रानाना क्लबमार्फत युरोपियन लिग डेब्यु गरेकी थिइन्।
नेपालको सर्वाधिक गोलकर्ता साम्बाले विदेशी लिगमा आफ्नो प्रभावशाली प्रदर्शनका कारण अन्तर्राष्ट्रिय फुटबलमा समेत पहिचान बनाएकी छन्। वेलिंगटनसँगको अनुबन्धसँगै उनले अष्ट्रेलियन लिगमा खेल्ने पहिलो नेपाली महिला खेलाडी बन्ने अवसरसमेत पाएकी छन्।
Comment