मर्यादित र व्यवसायिक पत्रकारिताका लागि आचारसंहिताको पालना अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पत्रकार महिलाहरूले डिजिटल पत्रकारितामा देखिएका चुनौतीका बीच उत्तरदायी, मर्यादित र व्यवसायिक पत्रकारिता विकासका लागि आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

प्रेस काउन्सिल नेपालको आयोजनामा र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को संयोजनमा बुधबार राजधानीमा सम्पन्न ‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले नेपाली मिडिया क्षेत्रमा जवाफदेहिताको अभावप्रति चिन्ता व्यक्त गरेका हुन्।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य सन्तराम बिडारीले आचारसंहिताले पत्रकारलाई नैतिक रूपमा बाँध्ने बताए भने अर्का सदस्य नकुल अर्यालले प्रेस काउन्सिल पत्रकारहरूको सहयोगी संस्था भएको र यसले पत्रकारितालाई व्यवसायिक तथा मर्यादित बनाउन सहजिकरण गर्ने बताए।

डब्लुडब्लुजेकी सल्लाहकार शुभेच्छा बिन्दु तुलाधरले महिलामैत्री, अपांगता मैत्री र जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाहरूको प्रसंग उठाउँदै, ती निर्देशिका राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सन्धीको अध्ययन तथा सरोकारवालाको सुझावका आधारमा तयार पारिएको जानकारी दिइन्।

कार्यक्रममा काउन्सिलका प्रमुख अधिकृत झबिन्द्र भुषालले युट्युब व्यवस्थापनमा काउन्सिलले गरिरहेको कामको जानकारी दिए।

डब्लुडब्लुजेकी अध्यक्ष रामकला खड्काले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बढ्दै गइरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै, आचारसंहिता पालनासहित पत्रकारले उत्तरदायी भूमिकामा रहनुपर्ने धारणा राखिन्। उनले कतिपय अवस्थामा अनलाइन मिडियाबाट समाचार हटाउन काउन्सिलले नै दबाब दिने गरेको गुनासोसमेत उठाउँदै, भविष्यमा स्वतन्त्र पत्रकारिताको वातावरण सुनिश्चित गर्न काउन्सिलले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिइन्।

सहभागी पत्रकारहरूले डिजिटल मिडियामा गुणस्तरीय सामग्रीको अभाव, तथ्यहीन सूचना र नियमनको कमजोरीजस्ता समस्याहरू औंल्याउँदै प्रेस काउन्सिललाई स्वतन्त्र निगरानीकर्ताको रूपमा थप सक्रिय र प्रभावकारी बन्नुपर्ने सुझाव दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।