पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको ‘मोस्ट वान्टेड’ सूचीमा, के हो कारण ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । अमेरिकी अनुसन्धान संस्था एफबीआईले इरानी राजदूत रेजा अमिरी मोघदमलाई आफ्नो मोस्ट वान्टेड सूचीमा थपेको छ। पाकिस्तानका लागि हाल इरानका राजदूत रहेका मोघदममाथि सन् २००७ मा अवकाशप्राप्त एफबीआई एजेन्ट रोबर्ट लेभिन्सनको अपहरण योजनामा संलग्न भएको गम्भीर आरोप लागेको छ।

एफबीआईका अनुसार, मोघदमले लेभिन्सन अपहरणको सम्पूर्ण सुपरिवेक्षण र व्यवस्थापन गरेका थिए र पछि घटनालाई ढाकछोप गर्न पनि संलग्न भएका थिए। लेभिन्सन सन् २००७ को मार्च ८ मा इरानको किश टापु पुगेका थिए र भोलिपल्ट अचानक बेपत्ता भएका थिए। हालसम्म उनको अवस्थाबारे कुनै स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

मोघदम, जो अहमद अमिरिनिया नामले पनि चिनिन्छन्, अघिल्लो समय इरानको गुप्तचर मन्त्रालयमा वरिष्ठ अधिकारी थिए र युरोपमा इरानी जासूसी गतिविधिहरूको निगरानी गर्थे। एफबीआईले लेभिन्सन अपहरणबारे अझै अनुसन्धान जारी राखेको बताउँदै मोघदम सहित तीन इरानी गुप्तचर अधिकारीहरूविरुद्ध पोस्टर जारी गरेको छ।

अन्य दुई अधिकारीहरूमा तागी दानेश्वर (सय्यद तागी घेमी) र गुलामहुसेन मोहम्मदनिया छन्। दानेश्वर इरानको गुप्तचर मन्त्रालयमा प्रति-जासूसी अधिकारीका रूपमा कार्यरत छन्। उनीमाथि अपहरणमा प्रत्यक्ष संलग्न एक अपरेटिभ मोहम्मद बसेरी (उर्फ सनाई) लाई निर्देश दिने आरोप छ।

गुलामहुसेन मोहम्मदनिया भने २०१६ मा अल्बानियाका लागि इरानी राजदूत थिए। उनलाई २०१८ मा आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा अल्बानियाबाट निष्कासित गरिएको थियो। एफबीआईका अनुसार, उनले लेभिन्सनको बेपत्ता भएको घटनामा दोष पाकिस्तानको बलुचिस्तानमा सक्रिय एक आतंकी समूहलाई लगाउन खोजेका थिए।

एफबीआई अधिकारी स्टीवन जेन्सेनले मोघदमसहित यी तीन अधिकारीहरू लेभिन्सन अपहरण योजनाको हिस्सा रहेको दाबी गरेका छन्। एफबीआईको आशंका अनुसार, लेभिन्सन अपहरणपश्चात बन्दी अवस्थामा मृत्यु भएको हुनसक्छ।

सन् २०१० र २०११ मा लेभिन्सनको भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए, जसमा उनी जीवित थिए र ग्वान्टानामो कैदीहरूजस्तै सुन्तला रंगको कपडामा देखिएका थिए। त्यसयता उनका बारेमा कुनै जानकारी सार्वजनिक भएको छैन।

न्यूयोर्क टाइम्सका अनुसार, लेभिन्सन इरानमा फरार अमेरिकी अपराधीलाई सीआईएको स्रोत बनाउन खोजिरहेका थिए र आफ्नै इच्छाले इरान गएका थिए। मार्च २०२५ मा, अमेरिकी वित्त विभागले मोघदमसहित धेरै इरानी अधिकारीहरूमाथि प्रतिबन्धसमेत लगाएको थियो।

एफबीआईको पछिल्लो कारबाहीले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र सुरक्षा मुद्दामा थप चासो पैदा गराएको छ। लेभिन्सन प्रकरण अझै अमेरिकी इतिहासको सबैभन्दा लामो समयसम्म बेपत्ता रहनु परेको अपहरण घटनामध्ये एक हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।