काठमाडौं । तीव्र प्रतिस्पर्धा र वित्तीय चुनौतीबीच पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचईआई) ले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय वित्तीय सफलता हासिल गरेको छ। कम्पनीले असार मसान्तसम्ममा कुल रु ४.०३ अर्ब बीमा प्रिमियम आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा दोहोरो अंकले वृद्धि भएको उल्लेख गरिएको छ।
वित्तीय दबाब, सञ्चालन खर्चको वृद्धि र दाबी भुक्तानीको चापबीच कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्दै दाबी फछ्र्यौट प्रक्रियामा प्रभावकारी चुस्तता प्रदर्शन गरेको छ। कम्पनीले प्राकृतिक प्रकोपलगायतका घटनाबाट प्रभावित ग्राहकहरूलाई शीघ्र क्षतिपूर्ति प्रदान गर्दै बीमा क्षेत्रप्रति विश्वास कायम राख्न सफल भएको जनाएको छ।
वार्षिक उपलब्धिको अवसरमा प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भिडियो सन्देशमार्फत कम्पनीको सफलताले सम्पूर्ण टिमलाई नयाँ ऊर्जा, आशा र आत्मविश्वास दिएको बताउँदै ग्राहक सन्तुष्टि र प्रविधिमा आधारित सेवा विस्तारलाई आगामी वर्षको प्रमुख प्राथमिकता बनाउने बताउनुभयो। उहाँका अनुसार कम्पनीले डिजिटल आधुनिकीकरण, सेवा सुदृढीकरण र ग्राहकसँगको सम्बन्ध बलियो बनाउन थप काम गर्दै जानेछ।
प्रति शेयर आम्दानीमा निरन्तर सुधार देखाउँदै कम्पनीले शेयरधनीलाई स्थिर प्रतिफल दिने क्षमतामा विश्वास व्यक्त गरेको छ। साथै, बीमाको पहुँच तल्लो तहसम्म विस्तार गर्दै ग्राहकमैत्री सेवा प्रवाहमा समर्पित रहने प्रतिबद्धता जनाएको छ।
दूरदर्शी रणनीति, पारदर्शिता, दक्षता र अनुशासित कार्यान्वयनमार्फत हिमालयन एभरेष्ट इन्स्योरेन्स ले अहिलेको प्रतिस्पर्धात्मक वातावरणमा आफूलाई निर्जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीको रूपमा स्थापित गर्न सफल भएको कम्पनीको दाबी छ। वित्तीय सबलता र नवप्रवर्तनशील सेवामार्फत कम्पनीले आगामी दिनमा अझ उच्च उचाइमा पुग्ने विश्वास व्यक्त गरेको छ।
Comment