आइएमई पे र खल्ती गाभिएर ‘खल्ती बाइ आइएमई’ सञ्चालनमा, देशकै सबैभन्दा ठूलो डिजिटल वालेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाै । नेपाली डिजिटल भुक्तानी सेवाका दुई प्रमुख नाम, आइएमई पे र खल्ती एकआपसमा गाभिएर साउन १ गतेदेखि ‘खल्ती बाइ आइएमई’ को नाममा एकीकृत सेवा सञ्चालनमा आएका छन्।

यो एकीकरणसँगै प्रयोगकर्ता संख्या, चुक्ता पुँजी र पहुँचको हिसाबले नयाँ सेवा नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट बनेको छ। मर्जरपछि गठन भएको आइएमई खल्ती लिमिटेडको चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने सेवा प्रयोगकर्ताको संख्या १ करोड २७ लाख पुगेको छ।

करिब एक दशकदेखि आ–आफ्नो पहिचान बनाउँदै आएका आइएमई पे र खल्ती अब एउटै मोबाइल एपमार्फत परिष्कृत, सुरक्षित र समन्वित सेवा प्रदान गर्नेछन्। आइएमई पे मुख्यतः विप्रेषण, सवारी भाडा भुक्तानी र ब्याज दिने सेवामा लोकप्रिय रहँदै आएको थियो, भने खल्ती चलचित्र टिकट बुकिङ, कार्यक्रम पास खरिद तथा प्रविधिमैत्री सुविधाका कारण युवापुस्तामाझ रुचाइएको थियो। गाभिएपछि प्रयोगकर्ताले सजिलै आफ्नो मौजुदा रकम, ब्याज, उपहार अंकलगायत विवरण नयाँ प्रणालीमा सार्न सक्ने सुविधा प्राप्त गर्नेछन्।

नयाँ कम्पनी आइएमई खल्ती लिमिटेडमा दुवै पक्षको स्वामित्व र नेतृत्व साझेदारी रहनेछ। आइएमई डिजिटल समाधानका अध्यक्ष कृष्णप्रसाद शर्माले ‘खल्ती बाइ आइएमई’ सेवा डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले यो एकीकरण नेपालभर वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित गरिएको ऐतिहासिक कदम भएको बताए। प्रमुख कार्यकारी अधिकृत विनय खड्काले सेवा विस्तारसँगै डिजिटल साक्षरताको अभिवृद्धि र समावेशी वित्तीय प्रणाली निर्माणमा केन्द्रित योजना ल्याइने बताए।

मर्ज हुनुअघि दुवै कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विभिन्न सम्मान प्राप्त गरेका थिए। आइएमई पेले सूचना प्रविधि सेवा पुरस्कार, वित्तीय प्रविधिमा उत्कृष्टता र अन्तर्राष्ट्रिय भुक्तानी साझेदारी पुरस्कार प्राप्त गरेको थियो भने खल्तीले तीन वर्ष लगातार प्रविधि नवप्रवर्तन पुरस्कारसहित नेपाल राष्ट्र बैंकबाट डिजिटल कारोबारमा योगदान दिएको भन्दै विशेष सम्मान प्राप्त गरेको थियो। ‘खल्ती बाइ आइएमई’ को औपचारिक सुरुवात आज विशेष कार्यक्रममार्फत घोषणा गरिएको हो, जससँगै नेपाली डिजिटल भुक्तानी प्रणालीले नयाँ युगमा प्रवेश गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।