दिल्लीमा चोरी गरी नेपाल फर्किएका ६ जना कोहलपुरमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोहलपुर । भारतको दिल्लीमा काम गर्ने घरबाट १५ तोला सुन र करिब आठ लाख नेपाली रुपैयाँ बराबरको नगद चोरी गरी नेपाल फर्किएका ६ जना व्यक्तिलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार विशेष सूचनाको आधारमा सोमबार दिउँसो कोहलपुर नगरपालिका–११ स्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्ने सबै व्यक्ति कर्णाली प्रदेशको कालिकोट जिल्लाका हुन्।

पक्राउ पर्नेमा रासकोट–१ का ४२ वर्षीय मनबहादुर शाही, ४२ वर्षीय तेजबहादुर शाही, सान्नी त्रिवेणी–८ का १८ वर्षीय पंकज केसी, ४५ वर्षीय प्रेमबहादुर खत्री, उनकी श्रीमती ३८ वर्षीया अनिता खत्री, र नरहरिनाथ–९ की २८ वर्षीया सरिता शाही रहेका छन्। प्रहरीले उनीहरूबाट लाल पत्थर जडित १५ तोला सुनका गरगहना र ७ लाख ८७ हजार नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार, अनिता र सरिता विगत डेढ वर्षदेखि दिल्लीको एक घरमा काम गर्दै आएका थिए। घरधनीको विश्वास जितिसकेका उनीहरूले घरभित्रको सबै काम गर्ने जिम्मेवारी पाएका थिए। केही दिनअघि घरधनी बिरामी भई अस्पताल भर्ना भएपछि सरिता र अनिता अस्पतालमै थिइन् भने घर खाली थियो।

त्यही अवसरमा अनिता र सरिताले नेपालबाट प्रेम, पंकज, मनबहादुर र तेजबहादुरलाई दिल्ली बोलाए। घरधनीले सुन र नगद कहाँ राख्छन् भन्ने कुरा जानकार भएकाले योजनाबद्ध रूपमा चारै जनाले घरमा चोरी गरेका थिए। त्यसपछि अस्पतालमै रहेकी अनिता र सरितालाई पनि भाग्न भनेपछि उनीहरू सबै दिल्लीबाट गौरिफन्टा नाका हुँदै नेपाल फर्किएका थिए।

कोहलपुरमा शंकास्पद गतिविधि देखिएपछि उनीहरू बसेको होटलका व्यक्तिले प्रहरीलाई खबर गरेका थिए। सोमबार दिउँसो प्रहरीले होटलमै पुगेर उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि जिल्ला अदालत बाँकेबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले चोरीको योजनामा संलग्न रहेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।