काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य घटाएको छ। मंगलबार जारी विज्ञप्तिमार्फत निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल/मट्टीतेलमा एक रुपैयाँ घटाएको जनाएको हो। नयाँ मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ।
नयाँ मूल्य भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीका आधारमा तोकिएको हो। निगमले देशभर तीन वर्गमा विभाजन गरी नयाँ मूल्य लागू गरेको छ।
पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा र डिजेल/मट्टीतेल १४५ रुपैयाँ ५० पैसा पुगेको छ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १५९ रुपैयाँ र डिजेल/मट्टीतेल १४७ रुपैयाँ कायम गरिएको छ।
तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६० रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य १४८ रुपैयाँ प्रतिलिटर पुगेको छ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल आफैं आयात नगरी भारतीय आयल कर्पोरेसनमार्फत प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। आइओसीले अन्तर्राष्ट्रिय बजारमा किनेको कच्चा तेलको लागत, प्रशोधन शुल्क र ढुवानी खर्चसमेत जोडेर मूल्य पठाउँछ, जसलाई आधार मानेर आयल निगमले अन्तिम उपभोक्ता मूल्य निर्धारण गर्छ।
यसरी उपभोक्ताले प्रयोग गर्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य निर्धारण आइओसीको लागत मूल्यमा निर्भर रहने गर्दछ।
Comment