मुकेश अम्बानीको रिलायन्ससँग चौधरी ग्रुपको सहकार्य: नेपालमा क्याम्पा कोला उत्पादन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । भारतका प्रतिष्ठित उद्योगी मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजले नेपाली औद्योगिक घराना चौधरी ग्रुपसँग सहकार्य गर्दै लोकप्रिय भारतीय कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ नेपाली बजारमा ल्याएको छ।

रिलायन्स इन्डस्ट्रीजको एफएमसीजी विंग रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा उत्पादित क्याम्पा कोला एक ऐतिहासिक र भावनात्मक भारतीय ब्रान्ड हो, जसको पुनरागमन सन् २०२३ मा भारतमा गरिएको थियो। सन् २०२२ मा रिलायन्सले क्याम्पा ब्रान्ड अधिग्रहण गर्दै यसलाई पुनः व्यवसायिक रुपमा सक्रिय बनाएको हो।

आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीका अनुसार, “चौधरी ग्रुप जस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा ब्रान्ड ल्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं।” उनले क्याम्पा कोलालाई ५० वर्षभन्दा पुरानो विरासत बोकेको ब्रान्ड भन्दै नेपाली उपभोक्तासँग भावनात्मक सम्बन्ध स्थापित गर्ने विश्वास व्यक्त गरे।

क्याम्पा कोला भारतको चर्चित आईपीएलजस्ता इभेन्टको प्रायोजनमार्फत चर्चा कमाउँदै आएको छ भने गल्फ कोअपरेशन काउन्सिल (GCC) मुलुकहरूमा यसले पहिल्यै बजार बनाइसकेको छ। अब नेपालमा चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्नेछ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले क्याम्पा कोला ल्याउने सहकार्यलाई चौधरी ग्रुप र सम्पूर्ण नेपालको लागि गर्वको विषय बताएका छन्। उनले भने, “हामी हाम्रो वितरण प्रणाली र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली उपभोक्तामाझ लोकप्रिय बनाउनेछौं।”

कम्पनीका अनुसार प्रारम्भिक चरणमा नेपाली बजारमा क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक उपलब्ध हुनेछन्। २५० मिलिलिटरका कार्बोनेटेड सफ्ट ड्रिंक (CSD) बोतलको मूल्य ३० रुपैयाँ तोकिएको छ भने इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ छ।

रिफ्रेशिङ स्वाद, जोशिलो प्रस्तुति र आकर्षक प्याकेजिङका साथ नेपाली बजारमा नयाँ तरंग ल्याउने लक्ष्यसहित रिलायन्स र चौधरी ग्रुपको यो सहकार्यले कोल्ड ड्रिंक उद्योगमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।