काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अन्य व्यक्ति संलग्न भएको भन्ने विषयमा गृहमन्त्री रमेश लेखकले निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री लेखकले सोमबार बिहान गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई तत्काल छानबिन सुरु गर्न निर्देशन दिएका हुन्। उनले प्रधानमन्त्रीको आधिकारिक टोली बाहेक स्पेन जान अनुमति पाएका व्यक्तिहरु को-को थिए भन्नेबारे प्रष्ट पार्न आदेश दिएका छन्।
“प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डल बाहेक स्पेन को-को गए? कुन विधि, प्रक्रिया र कुन संस्थामार्फत गए भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएको छु,” मन्त्री लेखकले भने, “जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्यो भन्नेबारे पनि अनुसन्धान हुनेछ।”
गृह मन्त्रालयका अनुसार उक्त विषयको गम्भीरता हेरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई खटाउने निर्णय गरिएको छ। मन्त्री लेखकले अनुसन्धानपछि दोषी देखिएमा कानुनी कारबाही सुनिश्चित गरिने स्पष्ट पारे।
प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणका लागि प्रस्थान गरेका थिए। भ्रमणमा उनलाई सरकारी प्रतिनिधिमण्डल साथ रहेको भए पनि हाल विभिन्न माध्यमबाट गैर-सरकारी व्यक्ति पनि भ्रमणमा सहभागी भएको भन्ने विषय सार्वजनिक भएपछि सरकार दबाबमा आएको छ।
गृह मन्त्रालयले छानबिन प्रक्रिया छिट्टै निष्कर्षमा पुर्याइने बताएको छ।
Comment