रसुवा बाढीले क्षतिग्रस्त संरचनाको भूगोलमैत्री पुनर्निर्माण गर्न सांसद आचार्यको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा रसुवा १ बाट प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवामा गएको भीषण बाढीले पुर्‍याएको क्षति गम्भीर भएको भन्दै पुनर्निर्माण कार्य चाँडो अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद आचार्यले २०७९ असार २४ गतेको बाढीले भौतिक पूर्वाधारदेखि ऊर्जा आयोजना र जनधनमा ठूलो क्षति पुर्‍याएको जानकारी गराए।

उनका अनुसार न्हेन्दे खोलाको बाढीले मितेरी पुल, रसुवागढी जलविद्युत् आयोजना, रसुवा भन्सार कार्यालय, कन्टेनर यार्ड र विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएको छ। बाढीले ४२ वटा इलेक्ट्रिक गाडी (ईभी), कार्गो र २३ वटा कन्टेनर ट्रकसहित अन्य निर्माण सामग्री बगाएको बताइएको छ।

रसुवागढीको १११ मेगावाटको जलविद्युत् आयोजना, चिलिमे टेलरेस, अपर त्रिशूली २१६, माथिल्लो त्रिशूली ३ए को हेडवर्क्स र त्रिशूली ३बी हबमा समेत बाढीले क्षति पुर्‍याएको उनले जानकारी दिए। त्यस्तै, रसुवागढी सडकखण्डको करिब १२०० मिटर भाग बगाएको छ भने त्रिशूली नदीका ३ झोलुंगे पुल पनि क्षतिग्रस्त भएका छन्।

बाढीका कारण चीनपट्टि ११ जना र नेपालतर्फ ३० जना बेपत्ता भएको उल्लेख गर्दै सांसद आचार्यले वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने क्षेत्र जोखिममा परेको भन्दै भूगोलमैत्री र दिगो पूर्वाधार विकासमा ध्यान दिन आग्रह गरे।

“हिमाली क्षेत्र भएकाले टिमुरेमा पर्याप्त जग्गा नहुँदा किनारैमा भौतिक संरचना निर्माण गरिएको थियो, त्यसैले धेरै क्षति भएको हो,” उनले भने, “पुनर्निर्माणका क्रममा भूगोलअनुसारको संरचना बनाउनुपर्छ।”

हाल स्याफ्रुदेखि टिमुरेसम्मको सडक अबरुद्ध रहेको, जसका कारण व्यापार, पर्यटन र कैलाश मानसरोवर जाने यात्रामा असर परेको उनले बताए। आचार्यले हवाइमार्गमार्फत उद्धार कार्य तीव्र बनाउन, अस्थायी सडक तथा बेलिब्रिज निर्माण गर्न, र नदीको धार नियन्त्रण गर्न आवश्यक संरचना बनाउन सरकारसँग माग गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।