काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा (साउनदेखि जेठसम्म) राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरूले ५ अर्ब २२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ८३ करोड २२ लाख रुपैयाँ नाफा कमाएका बैंकहरूले यस वर्ष ८.१९ प्रतिशतले नाफा वृद्धि गरेका हुन्।
समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउने विकास बैंक मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकले १ अर्ब ५ करोड १७ लाख रुपैयाँ नाफा कमाए पनि अघिल्लो वर्षको तुलनामा १०.०७ प्रतिशतले घटेको देखिएको छ। दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले १ अर्ब १ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गर्दै १८.८५ प्रतिशतको वृद्धिदर देखाएको छ।
नाफा वृद्धिको अनुपातमा कामना सेवा विकास बैंक सबैभन्दा अगाडि रहेको छ। यसले ३६.८२ प्रतिशतले नाफा बढाउँदै ६६ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको हो। यस्तै, शाइन रेसुंगा विकास बैंकले ७३ करोड ८८ लाख (८.९८% वृद्धि), सांग्रिला विकास बैंकले ५६ करोड २९ लाख (५९.२२% वृद्धि), महालक्ष्मी विकास बैंकले ५३ करोड ४४ लाख (३.६६% घटावट), ज्योति विकास बैंकले ४३ करोड ६४ लाख (४०.९६% वृद्धि) र लुम्बिनी विकास बैंकले २१ करोड ७३ लाख (४८.३०% घटावट) रुपैयाँ नाफा आर्जन गरेका छन्।
समीक्षा अवधिको नाफाका आधारमा विकास बैंकहरूको समग्र वित्तीय अवस्था सकारात्मक देखिए पनि केही बैंकमा देखिएको नाफा घट्ने प्रवृत्तिले प्रतिस्पर्धा र जोखिम व्यवस्थापनमा थप सुधारको खाँचो औंल्याएको छ।
Comment