काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद चुलिँदै गएको छ। केन्द्रीय अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता नवराज सुवेदी समूहले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनविरुद्ध निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता गराएको छ।
गत असार २५ गते अध्यक्ष लिङदेनले सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट हटाउँदै नेतृ रोशन कार्कीलाई नियुक्त गरेपछि विवाद सुरु भएको हो। सो निर्णयविरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर जबरा, कुन्ती शाहीलगायत नेताहरू आइतबार आयोग पुगेर उजुरी दिएका हुन्।
उजुरी दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुवेदीले आफूलाई कुनै निर्णय जानकारी नदिई स्वेच्छाचारिताका आधारमा हटाइएको दाबी गरे। “केन्द्रीय समितिको बैठकबिनै मलाई हटाइएको हो, सोधपुछसमेत नगरिकन मिडियाबाट मात्र थाहा पाएँ,” उनले भने।
सुवेदीले पार्टीभित्र षड्यन्त्र हुन नदिनका लागि उजुरी दिएको जनाउँदै राजसंस्था पुनःस्थापनाको आन्दोलन जारी रहने स्पष्ट पारे। यस घटनाले राप्रपाभित्रको शक्ति संघर्ष र आन्तरिक असन्तुष्टि थप सतहमा आएको संकेत गरेको छ।
Comment