पढाइलाई उत्पादनसँग नजोडेसम्म उन्नति हुँदैन: पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पढाइलाई उत्पादनसँग नजोडेसम्म व्यक्ति, समाज र राष्ट्रको उन्नति हुन नसक्ने बताएका छन्।

एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण विद्यार्थीको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।

‘बाबुआमा खेतीपाती गर्ने, पशुपालन गर्ने, छोराछोरी भने पढेलेखेका मान्छेले के खेतीपाती गर्ने, के पशुपालन गर्ने, यस्ता काम त नपढेकाहरूले गर्ने हो भन्ने गलत मानसिकता विकास भएको छ, यो राम्रो होइन,’ उनले भने, ‘लेखपढ गर्नु भनेको ज्ञान आर्जन गर्नु मात्र होइन, जीवनयापनका लागि आफूलाई उत्पादनमा जोडिन सक्ने बनाउनु पनि हो।’

विज्ञान प्रविधिमा, पूर्वाधारमा जतिसुकै विकास गरे पनि, जस्तोसुकै मोबाइल र ल्यापटप चलाए पनि कृषि उत्पादन भएन भने बाँच्न नसकिने यथार्थतालाई सबैले बुझ्नुपर्नेमा उनले जोड दिए।

‘यो यथार्थतालाई अहिलेको पुस्ताले बुझ्न सकेन भने निकट भविष्यमै जीवनका लागि तड्पिनुपर्ने, बाँच्न नै नसकिने अवस्था आउँछ,’ उनले भने, ‘यसकारण पढ्नु भनेको उत्पादनबाट अलग हुनु नभई ज्ञान, सिप, प्रविध सिकेर आफूलाई आधुनिक तरिकाले उप्तादनमा जोड्नु आवश्यक छ। सबै मान्छेले जागिर मात्र खानेतिर लाग्ने हो भने उत्पादन कसले गर्ने ?’

विकसित देशहरूमा पढेलेखेका मान्छेहरू नै उत्पादन कार्यमा लाग्ने गरेको विषयलाई सबैले आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो।

अबका पिँढी आधुनिक तरिकाबाट उत्पादनसँग जोडिएर जानुपर्ने आवश्यकता उनले औंल्याए। ‘हाम्रा बुवाआमाले पढ्न पाउनुभएन, उत्पादनलाई व्यावसायिक बनाउन सक्नुभएन। निर्वाहमुखी खेती मात्र गर्नुभयो। अब हामीले खेतीपाती गर्ने, पशुपालन गर्ने तरिका बदल्नु जरुरी छ, वागवानीमा नयाँ ढंगले अगाडि बढ्नु जरुरी छ।’

२००७ सालमा जहानियाँ राणाशासन ढलेपछि मात्र नेपालमा शिक्षा विकासको जग बसेको उनले बताए। प्रजातन्त्र आएपछि पनि पढेलेखेका मान्छ अभाव हुँदा राज्यले धेरै दुःख पाएको उनले सुनाए।

‘प्रजातन्त्र आएको सुरुसुरुको बेलातिर मन्त्रिपरिषद्को बैठकपछि माइन्युट लेख्ने मान्छे नभएर भारतबाट झिकाउनुपरेको थियो। न्यायालय सुरु गर्न कानुन जान्ने मान्छे खोजेर भारतबाटै ल्याउनुपरेको थियो। विद्यालय र क्याम्पस पनि भारतलाई गुहारेर सञ्चालन गर्नुपर्ने अवस्था थियो।’ अहिले आफ्ना लागि चाहिने जनशक्ति उत्पादन गर्न राज्य सक्षम भएको उनले बताए।

‘अहिले नेपाललाई चाहिने जनशक्ति शिक्षक–प्राध्यापक, कर्मचारी पेसाकर्मी पर्याप्त उत्पादन भइसकेको छ, यस अर्थमा शिक्षा व्यवस्था सफल पनि रह्यो तर हामीलाई अबको खाँचो भनेको व्यावसायिक तरिकाले उत्पादनमा लाग्ने, समाजलाई नवप्रवर्तनमा जोड्ने, उद्यमशीलतालाई सार्थक बनाउने हो,’ उनले भने।

छात्रछात्रा, शिक्षक, राज्य सबैको मेहनत महत्तवपूर्ण रहेकाले यसपटक एसइईमा राम्रो नतिजा आएको उनले बताए। पहिलाको तुलनामा राम्रो भयो भन्दैमा सन्तुष्ट हुने अवस्था पनि नरहेको पनि उनले बताए।

उनले विद्यालय शिक्षामा असफल हुने अवस्था सधैंका लागि अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। राम्रो अंक ल्याउने मात्र ठुलो कुरा नभएर भविष्यमा के गर्ने भन्ने सोच निर्माण गर्नु ठुलो कुरा भएको उनले बताए।

अभिभावकले छोराछोरीका जति मेहनत र लगानी गरे पनि पढेलेखेका छोराछोरीको कर्तव्य कम हुँदै गइरहेको पनि उनले सुनाए। अब सबैले आफूलाई कर्तव्यनिष्ठ भएर राष्ट्र निर्माणमा समर्पित गर्नुपर्ने बेला आएको उनले बताए।

‘मुलुकको आर्थिक–सामाजिक विकासका अबका विद्यार्थीले आफूलाई केन्द्रित गर्नुपर्छ। अबका विद्यार्थीले सक्षम जनशक्तिका रूपमा आफूलाई विकसित गर्नुपर्छ। नयाँ सिराबाट राष्ट्रको समृद्धिमा लाग्नुपर्छ,’ उनले भने।

कुनै पनि देशको समृद्धि बाहिरका मान्छे आएर नगरिदिएको बताउँदै उनले नेपालको विकासमा नेपाली नै जुट्नुपर्ने बताए।

नेपालका राजनीतिक दलहरूले लामो समय नागरिकको अधिकारका लागि संघर्ष गर्नुपरेको, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधान, जनअधिकारका लागि लड्नुपरेको सुनाउँदै उनले राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्र भएका बेलामा भन्दा अहिले हाम्रो समाज धेरै अघि बढे पनि आत्मनिर्भर भने अझै हुन नसकेको बताए।

‘माछा मासु तरकारी, खाद्यान्नलगायत आयात भइरहेको छ, जुन चिज सजिलै यहीँ उत्पादन हुन सक्छ,’ उनले भने, ‘इजरायलले मरुभूमिमा पनि कृषिको विकास गरेर विश्व बजारमा बेचेको छ। कृषि प्रविधि निर्यात गरेको छ,’ उनले भने, ‘हजुरबा–हजुरआमाले यन्त्र, उपकरण, प्रविधि केही नहुँदा पनि मुलुकलाई कृषिमा आत्मनिर्भर बनाए तर आज नयाँ तरिकाले खेती गर्ने अवसर भए पनि हामी त्यसमा विमुख भइरहेका छौं, यस्तो स्थितिलाई बदल्नुपर्छ। अब युवाले आफूलाई रोजगारदाताका रूपमा रूपान्तरण गर्नुपर्ने बेला आएको छ।’

कृषिको समुचित उत्पादन हुन नसक्दा युवाहरू देश छाडेर जाने प्रवृत्ति बढेको उनको भनाइ थियो।

कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्त, स्थायी कमिटी सदस्य एवं सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डित, केन्द्रीय कमिटी सदस्य एवं बागमती प्रदेश सम्पर्क कमिटी इन्चार्ज सरस्वती बस्नेत, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोककुमार ठकुरीलगायतले एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए।

कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थीलाई सम्मान गरिएको अध्यक्ष ठकुरीले बताए। विद्यार्थीलाई सही विषय लिएर अध्ययन गर्न प्रोत्साहित गर्नेलगायत उद्देश्य राखेर हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गरिँदै आएको उनले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।