काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेका छन्। गभर्नर नियुक्त भएपछि डा. पौडेलद्वारा ल्याइएको यो पहिलो मौद्रिक नीति हो।
गभर्नर पौडेलले बिहीबार सार्वजनिक गरेको नीतिमा समग्र आर्थिक स्थायित्व, समुचित तरलता व्यवस्थापन र विदेशी विनिमय सञ्चिति सुदृढीकरणमा ध्यान केन्द्रित गरिएको छ। उनले नीति लचिलो र सावधानीपूर्वक कार्यान्वयन गरिने बताएका छन्।
गभर्नर पौडेलका अनुसार, मौद्रिक नीतिले समग्र माग अभिवृद्धि गर्ने र निक्षेपको वास्तविक ब्याजदर ऋणात्मक हुन नदिन आवश्यक सजगता अपनाइएको छ।
मौद्रिक नीतिको प्रमुख लक्ष्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने, मुद्रास्फीति ५ प्रतिशतमा सीमित गर्ने र विदेशी विनिमय सञ्चिति सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी कायम राख्ने उल्लेख गरिएको छ।
पौडेलले मुद्रास्फीतिमाथि नियन्त्रण राख्न मौद्रिक तरलता र विनिमय व्यवस्थापन नीति समायोजन गरिने जानकारी दिए।
Comment