काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि विस्तार हुनेगरी मौद्रिक नीति आउनुपर्ने बताएका छन्। उनले बजेट र मौद्रिक नीति एकआपसमा समन्वयित ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा आयोजित बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै ढकालले निजी क्षेत्रका सुझावहरूलाई व्यक्तिगत फाइदाको रूपमा हेर्ने सोचका कारण आवश्यक भन्दा बढी कडाइ गरिएको भन्दै आपत्ति जनाए। उनले यस्ता सोचले अर्थतन्त्रमा चहलपहल ल्याउन नसकिएको टिप्पणी गरे।
अध्यक्ष ढकालले बजेट स्प्रिटअनुसार कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएका ३० वटा कानुनहरूमा संशोधन भइसकेको जानकारी दिए। तर उनले बजेटमा उठाइएका केही विषय, जस्तै हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन निजी क्षेत्रबाट सुझाव दिइए पनि त्यसको कार्यान्वयन नभएको गुनासो गरे।
आगामी दिनमा निजी क्षेत्रका सुझावहरूलाई ध्यानमा राखेर नीतिहरू लागू हुने विश्वास व्यक्त गर्दै ढकालले समग्र अर्थतन्त्र चलायमान बनाउने कार्यमा सरकार र निजी क्षेत्र सहकार्यमा अघि बढ्नुपर्ने धारणा राखे।
Comment