काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिरको पार्किङस्थलबाट पक्राउ गरेको छ। बुधबार बेलुका पक्राउ परेका ती व्यक्ति ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ घर भई काठमाडौँको मुलपानी बसोबास गर्दै आएका ३० वर्षीय प्रदीप वनेम लिम्बु रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वनेमले वास्तविक नम्बर बागमती प्रदेश ०२–०४९ प ८००३ भएको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरी बागमती प्रदेश ०२–०४६ प ९७२० राखेर चलाइरहेका थिए। शंकास्पद अवस्थामा ट्राफिक प्रहरीले चेकजाँच गर्दा मोटरसाइकल चोरीको भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
उक्त मोटरसाइकल इलामको सूर्योदय नगरपालिका–१ निवासी अभिषेक वेगाले काठमाडौँको बालाजु क्षेत्रबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए। अहिले वनेमलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।
प्रवक्ता गिरीका अनुसार ट्राफिक प्रहरीले हराएका सवारीसाधनको खोजतलास तथा चोरी नियन्त्रणको कार्य निरन्तर रूपमा गर्दै आएको छ। उनले सवारीधनीहरूलाई आफ्नो सवारी सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डल लक, डिस्क लक, सुरक्षा साइरन जडान गर्न र एकान्त स्थानमा सवारी राख्नबाट जोगिन अनुरोध गरे।
साथै, सवारी साधन हराएमा तुरुन्तै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको १०० मा सम्पर्क गर्न तथा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरिएको छ।
Comment