एयरपोर्ट जाँदा एकै खालको पोसाक, टोपी लगाउन नपाइने, यस्ता छन् अरु व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षालाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागले नयाँ निर्देशिका लागू गरेको छ। मंगलबार सार्वजनिक गरिएको सूचनामार्फत यात्रु र आगन्तुकका लागि विमानस्थल प्रवेशसम्बन्धी कडा नियम लागू गरिएको हो।

नयाँ व्यवस्थाअनुसार अब अध्यागमन क्षेत्र प्रवेश गर्दा यात्रु वा बिदाइकर्ताले माला, खादा, फूल, उपहारजस्ता वस्तु लैजान नपाउने भएका छन्। विभागका अनुसार यस्ता सामग्रीले सुरक्षाको दृष्टिले शंका उत्पन्न गराउन सक्ने भएकाले तिनको प्रयोग, प्रदर्शन वा आदानप्रदान पूर्ण रूपमा निषेध गरिएको हो।

त्यसैगरी, अब विमानस्थल क्षेत्रमा कुनै विशेष संस्कृति झल्किने पहिरन, झिलीमिली कपडा, ब्याज, टोपी वा संकेत चिह्नयुक्त पहिचानका सामग्री प्रयोग गर्न पाइने छैन। सूचनामा भनिएको छ, “यस्ता वस्तुले अवाञ्छित ध्यान तान्ने, भ्रम सिर्जना गर्ने र उडान सुरक्षामा असर पर्ने सम्भावना रहने भएकाले यस्ता पोशाक र चिह्न प्रयोग नगर्न अनुरोध गरिन्छ।”

विभागले अध्यागमन प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुसार पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले यस्तो निर्देशन ल्याएको स्पष्ट पारेको छ। साथै ट्राभल एजेन्सी, एयरलाइन्स कम्पनी र यात्रुहरूलाई पूर्ण सहकार्य गर्न समेत अनुरोध गरिएको छ।

पछिल्ला दिनहरूमा भिजिट भिसा मार्फत नेपाली नागरिकलाई अवैध रूपमा विदेश पठाउने कार्यमा केही व्यक्तिहरू संलग्न रहेको विषय सार्वजनिक भइरहेका बेला अध्यागमनले यस्तो व्यवस्था ल्याएको हो। अनुसन्धानमा खुल्न आएको छ कि यस्ता समूहले एकैखाले पोशाक वा संकेत चिह्न प्रयोग गरी यात्रु परिचय दिन्थे, जसले सुरक्षामा चुनौती थपिएको थियो।

नयाँ निर्देशिकाले विमानस्थलको सुरक्षालाई बलियो बनाउने र अध्यागमन प्रक्रियामा पारदर्शिता ल्याउने अपेक्षा लिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।