काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बोर्डको प्राथमिकता नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनु र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गर्नु रहेको बताएका छन्।
बिहीबार संसदको अर्थ समितिमा भएको छलफलमा अध्यक्ष श्रेष्ठले सरकारले दिएको निर्देशनअनुसार नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिनुका साथै नेप्से सुधारका लागि आवश्यक कदम चाल्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
“नयाँ स्टकको लाइसेन्स दिने विषय धेरै पुरानो र विवादित थियो। विभिन्न समिति र अदालतमा मुद्दा परेका थिए, तर अब कुनै रोकटोक छैन,” श्रेष्ठले भने, “सर्वोच्च अदालतबाट पनि दुई पटक यसको बाटो खुलाइएको छ।”
उनका अनुसार अहिले बोर्डमा तीनवटा प्रस्ताव आइपुगेका छन् र ती प्रस्तावहरूलाई मूल्यांकन गर्न सिलबन्दी प्रक्रियामा राखिएको छ। चिन्तामणि शिवाकोटी समितिको प्रतिवेदनले थप मापदण्ड र सर्त सिफारिस गरेकाले ती प्रस्तावहरूको गहिरो अध्ययन भइरहेको उनले स्पष्ट पारे।
श्रेष्ठले नेप्सेको सुधार प्रक्रियामा धितोपत्र बोर्ड, नेप्से र नेपाल सरकारको भूमिका रहने उल्लेख गरे। “नेप्से पुनर्संरचनाको विषयमा हामीले सरकारलाई सुझाव पेस गरिसकेका छौं,” उनले भने, “साथै, नेप्सेलाई पनि पत्र काटी पुनर्संरचनाप्रति चासो व्यक्त गरिसकेका छौं।”
उनले यस प्रक्रियामा सरकारले निर्णायक भूमिका खेल्नुपर्ने आवश्यकता रहेको पनि औँल्याए। अध्यक्ष श्रेष्ठका अनुसार पूँजी बजारको पारदर्शिता, प्रतिस्पर्धात्मकता र दक्षता बढाउनका लागि नेप्सेमा संरचनात्मक सुधार अपरिहार्य छ।
Comment