काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा नेपाल राष्ट्र बैंकले कुल २१३ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न नसकेको रकम राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत बजारबाट फिर्ता लिएको हो।
राष्ट्र बैंकका अनुसार सो अवधिमा निक्षेप संकलन बोलकबोल प्रक्रियाबाट २७ खर्ब ८४ अर्ब ८० करोड र स्थायी निक्षेप सुविधामार्फत १८५ खर्ब ५८ अर्ब ७० करोड रुपैयाँ प्रशोचन गरिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत खुद १९० खर्ब ८४ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको थियो।
त्यसैगरी, समीक्षा अवधिमा ओभरनाइट तरलता सुविधाको उपयोग २ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ।
विदेशी विनिमय बजारतर्फ हेर्दा राष्ट्र बैंकले वाणिज्य बैंकहरूमार्फत अमेरिकी डलर ५ अर्ब १ करोड खुद खरिद गरी ६ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता बजारमा प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ३३ करोड डलर खरीद गरी ७ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।
यस्तै, समीक्षा अवधिमा राष्ट्र बैंकले ३ अर्ब ४६ करोड डलर बिक्री गरी ४ खर्ब ७१ अर्ब ३९ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ३ अर्ब ६४ करोड डलर बिक्री गरी ४ खर्ब ८४ अर्ब ४४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।
अन्तर–बैंक कारोबारतर्फ, ११ महिनामा वाणिज्य बैंकहरूबीच १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वित्तीय संस्थाहरूबीच १ खर्ब ५० अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसअनुसार कुल १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँको अन्तर–बैंक कारोबार सम्पन्न भएको राष्ट्र बैंकले जनाएको छ।
Comment