अबको मौद्रिक नीति जिम्मेवार र यथार्थमा आधारित हुनुपर्छः पूर्व अर्थमन्त्री महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अब आउन लागेको मौद्रिक नीतिले विगतका अनुभवबाट पाठ सिक्नुपर्ने बताएका छन्।

संघीय संसदको अर्थ समितिमा बोल्दै उनले विगतमा कहिले अत्यधिक कर्जा प्रवाह, कहिले अत्यधिक नियन्त्रण (रेगुलेसन) जस्ता ‘हर्ड मेन्टालिटी’का कारण आर्थिक नीतिहरू अस्थिर बनेको भन्दै यस्तो ‘रोलर कोस्टर’ शैली अन्त्य गर्नुपर्नेमा जोड दिए। अबको मौद्रिक नीति उच्च व्यावसायिकता, दीर्घकालीन सोच र जिम्मेवार दृष्टिकोणका साथ ल्याइनुपर्ने उनको भनाइ थियो।

उनले बैंकहरूले साना कर्जा लिने ग्राहकलाई झन्झटमा पारिरहेको र ठूला कर्जामा प्राथमिकता दिइरहेकोप्रति आपत्ति जनाउँदै यस्तो मानसिकता परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। कृषि विकास बैंकजस्ता संस्थाहरूको उद्देश्य नै अहिले विग्रिएको भन्दै उनले ती बैंकहरू कृषि प्रवर्द्धनभन्दा हाइड्रोपावरलगायत क्षेत्रमा पैसा लगाउन व्यस्त रहेको टिप्पणी गरे।

डा. महतले कृषिमा कर्जा प्रवाह सात प्रतिशतभन्दा तल झरेको र त्यो पनि वास्तविक कृषि उत्पादनमा प्रयोग नभएको बताए। उनले वैदेशिक अनुभव लिएर फर्किएका युवा र प्रविधिमैत्री किसानलाई प्राथमिकता दिने खालको मौद्रिक तथा वित्तीय नीति ल्याउनुपर्नेमा जोड दिए। बैंक र व्यवसायीबीच हित संघर्ष देखिएको भन्दै उनले नियमन र पारदर्शितामा सन्तुलन आवश्यक रहेको धारणा राखे।

उनले राष्ट्र बैंकले कुनै व्यक्तिलाई पूरै कर्जा तिर्न निर्देशन दिएकोप्रति असन्तोष जनाउँदै बैंकलाई कुनै समस्या नरहेको अवस्थामा यस्तो निर्देशन अस्वाभाविक रहेको बताए। यस्तै, घरजग्गा क्षेत्रमा अनावश्यक लगानी हुँदा मूल्य घट्नु स्वाभाविक भए पनि लगानीकर्ताहरू घाटा स्वीकार्न तयार नभएको उल्लेख गर्दै महतले नीति बनाउँदा यथार्थ स्वीकार गर्न सक्नुपर्ने तर्क गरे। सेयर बजारको नियमन कमजोर रहेको र कमजोर कम्पनीका सेयर मूल्य अनावश्यक रूपले बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले उत्पादन क्षेत्रमा काम गर्ने तथा वास्तविक लगानीकर्तालाई सहुलियत दिने नीति आवश्यक भएको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।