काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) को २२औं वार्षिक साधारण सभाबाट वीरेन्द्रराज पाण्डे नयाँ अध्यक्षमा चयन भएका छन्। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे स्वतः अध्यक्ष बनेका हुन्।
काठमाडौंबाट निर्माण व्यवसायमा तीन दशकभन्दा बढी अनुभव बटुलेका पाण्डे सिभिल इन्जिनियरिङ, जलस्रोत, सडक, आवास तथा संरचना विकासमा दखल राख्ने अनुभवी उद्यमी हुन्। नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक रहेका पाण्डे हरित निर्माण, कृषि र शिक्षा क्षेत्रमा पनि क्रियाशील छन्।
पाण्डेले २०७५ सालदेखि परिसंघको उपाध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए भने एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद सदस्य एवं विभिन्न समितिमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
बुधबार राजधानीमा सम्पन्न वार्षिक साधारण सभामा निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई सपथ गराउँदै पदभार हस्तान्तरण गरे।
सभाबाट परिसंघको नयाँ राष्ट्रिय परिषद् र कार्यसमिति समेत चयन गरिएको छ। परिषद सदस्यबाट सर्वसम्मत रूपमा ७ जना उपाध्यक्ष चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन्। अन्य उपाध्यक्षमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी निर्वाचित भएका छन्।
राष्ट्रिय परिषद्का सदस्यमा गोपालकुमार अग्रवाल, मिलन बाबु मल्ल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोडी, दीपक कुमार अग्रवाल, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, गौरव शारडा, दिलीप अग्रवाल, यश अग्रवाल, सन्दीप शारडा, राजीव गुप्ता, सञ्जीव न्यौपाने, हेमराज ढकाल, अनुराग गोयल, ध्रुव रिजाल, संजय गोल्छा, वर्षा श्रेष्ठ, विदुषी राणा, आशिष गर्ग, सेवा पाठक लगायत धेरै नयाँ अनुहार चयन भएका छन्।
प्रदेशबाट पनि विभिन्न अध्यक्षहरू परिषद सदस्य बनेका छन्। कोशीबाट भीम घिमिरे, मधेशबाट प्रमोद साह, बागमतीबाट लेखराज पोखरेल, गण्डकीबाट विनोद न्यौपाने, लुम्बिनीबाट एजाज आलम, कर्णालीबाट छत्र शाही र सुदूरपश्चिमबाट रमणचन्द्र श्रेष्ठ परिषद सदस्यमा मनोनित भएका छन्।
मकवानपुर, चितवन, नवलपुर, रुपन्देही र पोखरा औद्योगिक क्षेत्र उद्योग संघका प्रतिनिधिहरू पनि पदेन सदस्यको रूपमा परिसंघमा सहभागी भएका छन्।
नवनिर्वाचित अध्यक्ष पाण्डेले पदभार ग्रहण गर्दै नेपाल उद्योग परिसंघले विगतमा पुर्याएका उपलब्धीहरूलाई संस्थागत गर्दै निजी क्षेत्रको विकास, औद्योगिक पूर्वाधार विस्तार र आर्थिक सशक्तीकरणमा परिसंघ अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
Comment