काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा, सनातन धर्मावलम्बीहरूले ‘गुरुपूर्णिमा’ को रुपमा श्रद्धा र भक्ति भावका साथ मनाउँदैछन्। वैदिक परम्परामा गुरुलाई देवताको समान मानिएको छ – ‘गुरुदेवो भव’ भन्ने भावनाले गुरुको महिमा उजागर गरिन्छ।
मनुस्मृतिमा जन्म दिने, संस्कार गराउने र वेद वा मन्त्र प्रदान गर्ने व्यक्तिलाई गुरु मानिएको छ। वैदिक सनातन संस्कृतिमा माता, पिता र गुरु—यी तीनलाई व्यक्तिको जीवनमा मूल आधारका रूपमा लिइन्छ। पहिलो गुरु आमालाई मानिन्छ भने, व्रतबन्ध संस्कारमार्फत गायत्री मन्त्र दिने र वेदको शिक्षा दिने आचार्य गुरुको रूपमा प्रतिष्ठित हुन्छन्।
चाणक्य नीति अनुसार, “एक अक्षर मात्र सिकाउने गुरुको पनि सम्मान नगर्ने व्यक्ति पशुभन्दा पनि अधम हुन्छ।” स्मृतिहरूमा भनिएको छ— “जो स्वयं आचरणमा रहन्छन् र अरूलाई पनि आचरणमा राख्छन्, उनी नै सच्चा गुरु हुन्।”
गुरुका विभिन्न प्रकारहरू शास्त्रमा वर्णन गरिएको पाइन्छ। तपस्या र ज्ञान साधनामा लीन ऋषि–महर्षिहरू, त्रिदेव—ब्रह्मा, विष्णु र महेश्वर, गीता उपदेश दिने भगवान श्रीकृष्ण, देवगुरु बृहस्पति र दैत्यगुरु शुक्राचार्य सबैलाई गुरुका रूपमा स्मरण गरिन्छ।
विशेषगरी आज महर्षि वेदव्यासको जन्मजयन्ती पनि रहेको हुँदा गुरुपूर्णिमा उनीप्रति समर्पित पर्वका रूपमा समेत चिनिन्छ। उनी १८ पुराणका रचयिता हुन्।
श्रीमद्भागवत महापुराणको एकादश स्कन्ध अनुसार भगवान दत्तात्रेयले पृथ्वी, वायु, आकाश, जल, अग्नि, माछा, हात्ती, माकुरा, हरिण लगायत २४ वस्तु वा प्राणीहरूलाई आफ्ना गुरु मानेका छन्। यसले देखाउँछ— ज्ञानको स्रोत केवल मानिस नभई सृष्टिका हरेक तत्व हुन सक्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, आज बिहीबार राति १ बजेर ५७ मिनेटसम्म पूर्णिमा तिथि रहनेछ। यसै दिन विधिपूर्वक गुरु पूजन, ज्ञानदानको स्मरण र श्रद्धाभाव प्रकट गर्दै गुरुपूर्णिमा मनाइँदैछ।
गुरुपूर्णिमाको यस विशेष अवसरमा शिक्षालय, मठ-मन्दिर र आश्रमहरूमा विविध कार्यक्रम, व्याख्यान, गुरु पूजन तथा आध्यात्मिक प्रवचनको आयोजना भइरहेको छ।
Comment