काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोमले नेपालमा सेवा सुरु गरेको ६ वर्षमै उल्लेख्य प्रगति गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८२ साल जेठसम्मको तथ्यांक अनुसार ग्राहक संख्याको आधारमा डिसहोमले सरकारी सेवा प्रदायक नेपाल टेलिकमलाई उछिन्दै दोस्रो स्थान ओगटेको हो।
२०७६ फागुन १३ गते सेवा सुरु गरेको डिसहोमले २०८२ जेठसम्ममा ३ लाख ५६ हजार ७६५ ग्राहक बनाइसकेको छ। त्यही अवधिमा नेपाल टेलिकमको ग्राहक संख्या ३ लाख ५२ हजारमा सीमित देखिएको छ।
पहिलो स्थानमा भने वर्ल्डलिंक कम्युनिकेसन यथावत रहेको छ। यस कम्पनीको ग्राहक संख्या १० लाख ७ हजार पुगेको छ।
डिसहोमले प्रारम्भिक चरणदेखि नै आक्रामक बजार रणनीति अपनाएको थियो। यद्यपि हाल भने कम्पनीले सेवा गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर विस्तार गरिरहेको जनाएको छ।
डिसहोमका अनुसार, हालको रणनीति वर्ल्डलिंकसँगको फराकिलो अन्तरलाई घटाउँदै, टेलिकमसँगको अन्तरलाई अझ फराकिलो बनाउने दिशामा केन्द्रित रहेको छ।
इतिहास हेर्दा, २०७७ मा टेलिकमसँग २ लाख ४३ हजार र वर्ल्डलिंकसँग ३ लाख ६८ हजार ग्राहक थिए। तर त्यसयता टेलिकमको वृद्धिदर स्थिर रहँदा वर्ल्डलिंक र डिसहोमले उल्लेखनीय वृद्धि गर्दै आएका छन्।
२०८१ सालमा टेलिकमको ग्राहक संख्या ३ लाख १२ हजार २२८ पुगेको थियो भने वर्ल्डलिंकले ९ लाख १२ हजार ग्राहक पार गरिसकेको थियो।
हालको तथ्यांकले देखाउँछ कि निजी क्षेत्रको लगानी, सेवा गुणस्तर र पहुँच विस्तारमा भएको निरन्तर प्रयासले इन्टरनेट सेवाको प्रतिस्पर्धामा निजी कम्पनीहरू अगाडि बढिरहेका छन्। यसले सरकारी सेवा प्रदायक संस्थाहरूलाई पनि अब नवप्रवर्तन र रणनीतिक सुधारको खाँचो औंल्याएको छ।
Comment