काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (असार २५, बुधबार) देशका विभिन्न भागहरूमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनअनुसार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख गरिएको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुने पूर्वानुमान गरिएको छ।
आज रातिको लागि भने कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, १०–५० मिलिमिटर मध्यम, ५०–१०० मिलिमिटर भारी, १००–२०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी मानिन्छ।
वर्षा हुने क्षेत्रको अनुमानित भागका आधारमा “एक–दुई स्थान”, “थोरै स्थान”, “केही स्थान”, “धेरै स्थान” र “अधिकांश स्थान” भन्ने वर्गीकरण गरिएको छ।
मौसम महाशाखाले सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी र सवारी आवागमनमा अवरोध हुन सक्ने भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
Comment