काठमाडौँ । चालु आर्थिक वर्षको जेठ महिनासम्म वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरूको अन्तरबैंक कारोबारमा उल्लेख्य गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा अन्तरबैंक कारोबार अघिल्लो वर्षको तुलनामा ५८.६ प्रतिशतले घटेको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले १ खर्ब ५० अर्ब ३३ करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार गरेका छन्। यसरी कुल कारोबार १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यो कारोबार ४० खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ पुगेको थियो।
गत वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले अन्तरबैंकिङ कारोबारमा लाग्ने सेवा शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने निर्णय गरेका थिए। यही कारणले कारोबारमा उल्लेख्य कमी आएको विश्लेषण गरिएको छ।
यद्यपि, आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले अन्तरबैंक सेवा शुल्कमा लाग्ने भ्याट हटाउने घोषणा गरेका छन्। १५ जेठमा संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उनले भ्याट हटाइने बताएका थिए। यसअघि यो प्रावधानप्रति व्यापक आलोचना हुँदै आएको थियो, जसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्याट हटाउने प्रतिबद्धता जनाएका थिए।
भ्याट हटेसँगै अन्तरबैंक कारोबारमा पुनः वृद्धि हुने अपेक्षा गरिएको छ। आगामी वर्ष यो क्षेत्रमा सुधार आउने अर्थविद्को विश्वास रहेको छ।
Comment