काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा कुल आन्तरिक कर्जा ३.४ प्रतिशतले बढेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि दर ३.५ प्रतिशत थियो। वार्षिक बिन्दुगत आधारमा २०८२ जेठ मसान्तसम्म आन्तरिक कर्जा ६.० प्रतिशतले वृद्धि भएको छ।
यस अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२.१ प्रतिशतले घटेको देखिन्छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो दाबी १२.५ प्रतिशतले घटेको थियो। त्यस्तै, निजी क्षेत्रमाथिको दाबी भने ८.७ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्ष ६.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत रूपमा यो दाबी ८.२ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.० प्रतिशतले अर्थात् ५ खर्ब १७ अर्ब ६० करोड रुपैयाँले वृद्धि भएको छ। अघिल्लो वर्ष यो दर ९.० प्रतिशत अर्थात् ५ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँ थियो। वार्षिक आधारमा यो वृद्धि दर १२.० प्रतिशत रहेको छ। जेठ मसान्तसम्म कुल निक्षेपमा चल्ती खाताको अंश ५.७ प्रतिशत, बचत खाताको ३६.२ प्रतिशत र मुद्दती खाताको ५०.२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यो क्रमशः ५.२, २९.१ र ५८.५ प्रतिशत थियो। संस्थागत निक्षेपको अंश पनि घटेर ३५.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ३६.० प्रतिशत थियो।
यता, निजी क्षेत्रतर्फको कर्जा प्रवाह ८ प्रतिशतले अर्थात् ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँले बढेको छ। अघिल्लो वर्ष यो कर्जा ५.१ प्रतिशतले अर्थात् २ खर्ब ४६ अर्ब ८० करोडले बढेको थियो। वार्षिक बिन्दुगत रूपमा यो वृद्धि दर ८.७ प्रतिशत रहेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये ६३.० प्रतिशत कर्जा गैरवित्तीय संस्थागत क्षेत्रतर्फ र ३७.० प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाहित भएको छ।
कर्जा प्रवाहमा वाणिज्य बैंकको भूमिका उच्च रहेको देखिन्छ, जसले ८.४ प्रतिशत कर्जा प्रवाह गरेको छ। विकास बैंकले ४.७ प्रतिशत र वित्त कम्पनीले ६.९ प्रतिशतले कर्जा प्रवाह गरेका छन्। कुल कर्जामध्ये १४.५ प्रतिशत कर्जा कृषि तथा गैरकृषिजन्य वस्तु सुरक्षणका लागि चालु सम्पत्तिमा आधारित छ भने ६५.० प्रतिशत कर्जा घरजग्गा धितो सुरक्षणमा आधारित छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः १२.० र ६८.५ प्रतिशत थिए।
आर्थिक गतिविधिका क्षेत्रगत कर्जा प्रवाह हेर्दा, औद्योगिक उत्पादनतर्फ ८.२ प्रतिशत, निर्माण क्षेत्रमा १२.९ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १३.५ प्रतिशत, सेवा उद्योगमा ८.८ प्रतिशत र उपभोग्य क्षेत्रतर्फ १०.९ प्रतिशतले कर्जा प्रवाह बढेको छ।
Comment