काठमाडौं । रसुवागढी नाका हुँदै हुने नेपाल-चीन बीचको व्यापार अनिश्चित भएको छ । गएराति चीनतर्फबाट आएको भीषण बाढीले रसुवागढीस्थित चीन-नेपाल जोड्ने मितेरी पुल बगाएसँगै दुई देशको सम्पर्क टुटेको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ महिना) सम्म रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । १ अर्ब ९६ करोड १४ लाख बराबरको वस्तु निर्यात भएको छ ।
चीनतर्फको अर्को नाका तातोपानीबाट यो अवधिसम्म ४६ अर्ब ८९ करोडको आयात भएको छ । निर्यात व्यापार शून्य छ । चीनतर्फ हवाईमार्गबाट हुनेबाहेक व्यापार यी दुई नाकाबाट हुने गरेको छ । मंगलबार बिहान आएको विनाशकारी बाढीले यस नाकाको मितेरी पुल नै बगाएसँग अब रसुवागढीबाट तत्काल आयात–निर्यात हुने छैन ।
३५ ईभीसँगै २३ कन्टेनर सामान सहित बगे
जिल्ला प्रशासन कार्यालय रसुवाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ३५ वटा ईभी गाडी बगेको पुष्टि भएको छ । कन्टेनर ट्रक सामान सहित २३ वटा बगेको पुष्टि भइसकेको छ । सिनो ट्रक ६ वटा बगेको पुष्टि भएको छ ।
रसुवा भन्सार कार्यालय टिमुरेको यार्ड र सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि राखिएका केही थान मालवाहक ट्रक/कन्टेनर र विद्युतीय सवारीसाधन समेत बगाएको पाइएको छ । क्षति आकलनको काम भने अझै पनि जारी छ ।
Comment