गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई कानुनी मान्यता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुरुङ र मगर भाषाले गण्डकी प्रदेश सरकारको कामकाजी भाषाको मान्यता पाएका छन्। गण्डकी प्रदेशसभाको मंगलबारको बैठकले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै दुवै भाषाले सरकारी मान्यता पाएका हुन्।

नेपालको संविधानको धारा ७ को उपधारा २ अनुसार प्रदेशले बहुसंख्यक जनताले बोल्ने अन्य राष्ट्रभाषालाई प्रदेशको कानून बमोजिम सरकारी कामकाजको भाषा बनाउन सक्ने प्रावधान अनुसार गण्डकी प्रदेश सरकारले यी दुई भाषा प्रयोगमा ल्याउने निर्णय गरेको हो।

२०७८ सालको राष्ट्रिय जनगणना अनुसार गण्डकी प्रदेशमा १९.७९ प्रतिशत मगर र ११.३१ प्रतिशत गुरुङ जनसंख्या रहेको छ।

गण्डकीका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाका अनुसार तीमध्ये हाल ११ प्रतिशत मगर र ७ प्रतिशत गुरुङलेमात्र मातृभाषा बोल्छन्। गण्डकी प्रदेशभित्र मगर दोस्रो र गुरुङ चौथो ठूलो समुदाय हो। मगरको ढुटभाषाको लिपि र गुरुङको पनि त्यही लिपिमा सरकारी कामकाजी भाषा प्रयोगमा आउने छ। तर, विधेयकका लिपिबारे उल्लेख गरिएको छैन।

गुरुङ भाषामा पछिल्लो समय युनिकोडमा पनि विकास गरिएको खेमा लिपिलाई नै कामकाजी लिपि बनाउनुपर्ने तमु ह्यूल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्को माग रहँदै आएको छ।

तमु ह्यूल छोंज धींं राष्ट्रिय परिषद्का महासचिव राजु गुरुङले मंगलबार गुरुङ र मगर भाषालाई गण्डकीले कामकाजी भाषा बनाएकोमा स्वागतमात्र गरेका छैनन्, प्रेस विज्ञप्तिमार्फत् खेमा लिपि प्रयोगमा ल्याउन माग पनि गरेका छन्।

गुरुङ समुदायकै केही अगुवाहरुले चाहिँ उमे लिपि पनि गुरुङकै भएको जिकिर गर्दै आएका छन्। तर, भाषा विज्ञहरु यो लिपिलाई तिब्बतीयन लिपि भएको जिकिर गर्छन्।

भुटान सरकारले १९ औं शताब्दीमै यो लिपि आफ्नो भएको घोषणा गरेकाले त्यसले गुरुङ समुदायको मौलिकता नसमेट्ने तमु ह्यूल छोंज धींको जिकिर छ।

मगर र गुरुङ भाषाले सरकारी मान्यता पाएसँगै अव गण्डकीका सरकारी कार्यालय, आयोग, निर्देशनालय,संगठित संस्थाहरुमा यी दुई भाषा प्रयोग गर्नुपर्ने छ। देवनागिरी लिपीमा लेखिने नेपाली भाषाका अतिरिक्त तोकिए बमोजिमको लिपिमा लेखिने मगर र गुरुङ भाषा समेतलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नुपर्नेछ।

साथै सरकारी कार्यालयमा सरकारी काम कारवाही र कार्यालयमा रहने सार्वजनिक दस्तावेजहरु यी दुई भाषामा समेत अनुवाद गरी अभिलेखीकरण गर्नुपर्ने, सेवाग्राहीले मगर वा गुरुङ भाषामा निवेदन, प्रमाण, कागजात पेश गरेमा कार्यसम्पन्न भएपछि सोही भाषामा आवस्यक कागजात उपलब्ध गराउन सक्ने व्यवस्था विधेयकमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।