काठमाडौं । रसुवा जिल्लामा हालै आएको बाढी र पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले जनजीवनसँगै नेपालको अटोमोबाइल व्यापार प्रणालीमा समेत गहिरो असर पारेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख र पीडितप्रति सहानुभूति प्रकट गरेको छ।
रसुवागढी नाकाबाट हुने प्रमुख अटोमोबाइल आयात प्रणाली प्रभावित भएको भन्दै नाडाले निर्माणाधीन सुख्खा बन्दरगाह र भन्सार क्षेत्रमै पार्किङ गरिएको कन्टेनरहरू बगाएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
नाडाले आफ्नो विज्ञप्तिमा लेखेको छ, “आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ र हामी त्यसमा गहिरो सहानुभूति प्रकट गर्दछौं।”
संघले यस्तो विषम परिस्थितिमा अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूसँग एकताबद्ध भएर पीडितहरूको पुनःस्थापनामा साथ दिने प्रतिबद्धता जनाएको छ। साथै, नाडाबाट सहयोग आवश्यक परेमा जानकारी गराउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दै सहयोग र करुणाका साथ अगाडि बढ्न सबैलाई आग्रह गरेको छ।
नाडाले संकटको घडीमा संयमता अपनाउँदै राष्ट्रिय एकता र सहयोगको भावना अझ बलियो बनाउनु पर्नेमा जोड दिएको छ।
Comment