काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७८/८२ को जेठ महिनामा उपभोक्ता मुद्रास्फीति दर २.७२ प्रतिशतमा सीमित भएको छ। वैशाख महिनामा यो दर २.७७ प्रतिशत थियो, जसअनुसार मुद्रास्फीति दर झनै घटेको देखिएको छ। अघिल्लो वर्षको यही महिनामा मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो।
खाद्य तथा पेय पदार्थ समूहमा मुद्रास्फीति दर ०.५४ प्रतिशत मात्र रहेको छ, जबकि गैर–खाद्य तथा सेवा समूहमा ३.९४ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ।
यस अवधिमा घ्यू तथा तेल १०.०६%, गैर–मदिराजन्य पेय पदार्थ ५.१३%, फलफूल ३.५१%, र दाल तथा गेडागुडी २.८५% ले बढेका छन्। तर तरकारी ७.०४%, मरमसला ३.०६%, र माछा तथा मासु २.९१% ले घटेका छन्।
गैर–खाद्य समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूह ९.४३%, कपडा र जुत्ता–चप्पल ६.८२%, शिक्षा ५.८८%, फर्निचर तथा घरायसी सामान ५.०६% र सुर्तीजन्य वस्तु ४.६८% ले वृद्धि भएको छ।
क्षेत्रगत रूपमा, ग्रामीण क्षेत्रमा मुद्रास्फीति दर २.९० प्रतिशत र सहरी क्षेत्रमा २.६६ प्रतिशत रहेको छ।
प्रदेशगत रूपमा, सबैभन्दा बढी मुद्रास्फीति कोशी र हिमाल क्षेत्रमा ४.१८ प्रतिशत रहेको छ भने गण्डकी प्रदेशमा सबैभन्दा कम १.७५ प्रतिशत मात्र मुद्रास्फीति देखिएको छ। काठमाडौं उपत्यकाको मुद्रास्फीति दर २.७३ प्रतिशत रहेको छ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हालको मुद्रास्फीति दर नियन्त्रणमा रहेको देखिन्छ, तर खाद्य तथा गैर–खाद्य वस्तुहरूमा केही समूहहरूमा मूल्यवृद्धि कायम नै रहेको छ।
Comment