रामको जन्मभूमि नेपाल नै हो, प्रचार गर्न किन हिच्किचाउने? – प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदालाई आधार बनाएर पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले धार्मिक पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै भगवान रामको जन्मभूमि वर्तमान नेपालको भूभागमै पर्ने दाबी पुनः दोहोर्‍याए।

प्रधानमन्त्री ओलीले रामायणमा उल्लिखित भूगोल, नदी र पात्रहरूको आधारमा भगवान रामको जन्मस्थान चितवनको ठोरी क्षेत्र नै भएको पुष्टि हुने तर्क प्रस्तुत गरे। “वाल्मीकिकृत रामायणमै कोशी नदी पार गरी पश्चिम जानु र शिक्षा लिनु जस्ता प्रसंगहरू स्पष्ट छन्,” उनले भने, “त्यस सन्दर्भमा विश्वामित्र चतराका थिए भन्ने उल्लेखसमेत पाइन्छ।”

धार्मिक र सांस्कृतिक सम्पदामार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान अझ प्रस्ट बनाउन सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्ता पक्षहरूलाई आत्मविश्वासका साथ विश्वसामु प्रस्तुत गर्नुपर्ने बताए। “शिव, विश्वामित्र, रामजस्ता पात्र हाम्रो भूगोलसँग गाँसिएका छन्, तर हामी बोल्न हिच्किचाउँछौँ,” उनले भने, “अर्काले भनेको प्रचार हुन्छ, हामीले साँचो बोलेको अपच हुन्छ भने हामीले के गरी पर्यटन बिकास गर्ने?”

उनले पर्यटन प्रवर्द्धनका लागि अनावश्यक रूपमा विदेश जाने भन्दा पनि नेपालमै बसेर प्रविधिको भरमा विश्वव्यापी प्रचारप्रसार गर्न सकिने बताए। प्रधानमन्त्री ओलीले नेपाली पहिचानका प्रतीकहरूको संरक्षण र प्रवर्द्धन गर्दै धार्मिक पर्यटकीयस्थलहरूलाई व्यवस्थित र अन्तर्राष्ट्रियस्तरमा आकर्षक बनाउनेतर्फ नीतिगत र व्यवहारिक पहल आवश्यक रहेको धारणा राखे।

प्रधानमन्त्रीको भनाइले धार्मिक पर्यटन प्रवर्द्धनसँगै राष्ट्रिय पहिचानको सम्मान गर्ने विषयलाई नयाँ बहसको सुरुआत गराउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।