काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ सर्मपर्ण समारोहमा सम्बोधन गर्दै उनले सुशासनले मात्र शान्ति, न्याय र स्वतन्त्रताको अनुभूति सर्वसाधारणलाई दिलाउन सक्ने बताए।
राष्ट्रपतिले लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धति बनाएर लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउनु वर्तमान समयमा सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे। साथै सामाजिक न्यायका लागि मानव अधिकार तथा शान्ति समाजको योगदान सराहनीय रहेको बताए।
समारोहमा शान्ति समाजले सामाजिक न्यायका अभियन्ता तथा पूर्व राजदूत पदम सुन्दासलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ बाट सम्मानित गरियो।

Comment