काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने र छानविनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान कायम राख्ने निर्णय गरेको छ।
विहीबार पार्टी कार्यालयमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान र संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय गरेको हो।
बैठकले संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसदको सार्वभौमिकतामाथि प्रहार भएको भन्दै यस्तो गतिविधिलाई अन्देखा नगरी, यस कार्यमा संलग्नहरुलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग पनि गरेको छ।
बैठकले आगामी कार्तिक २७ गते हुने रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट योग्य उम्मेदवार छनोट गर्नका लागि आजको पार्टी सचिवालय बैठकमा पेश भएको उम्मेदवार छनौट विधिमा व्यापक छलफल भएको र बैठकमा प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय गरेको छ।
साथै पार्टीले रूपन्देही ३ मा त्यहाँको आम नागरिक, पार्टी शुभेच्छुकहरु समेतको चाहना अनुसार छनोट विधिमार्फत योग्य, सक्षम उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Comment