केसीको देउवालाई प्रश्न: ‘समयमै हुने महाधिवेशन’ को मिति कहिले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मितिबारे पार्टीभित्र पुनः चासो चुलिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनअघि चितवनमा पत्रकारसँग ‘समयमै महाधिवेशन हुन्छ’ भन्ने प्रतिक्रिया दिएपछि महाधिवेशनको वास्तविक मिति कहिले तोकिने भन्ने प्रश्न उठेको हो।

हाल चार दिनदेखि जारी रहेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पनि यही विषयमा छलफल भएको छ। बिहीबारको बैठकमा पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले सभापति देउवाप्रति सोधेका प्रश्नहरूले बैठकमा नयाँ बहसको सुरुवात गराएको छ।

“बारम्बार सार्वजनिक रूपमा सभापतिजीले समयमै महाधिवेशन हुने भन्नुहुन्छ, तर त्यो समय कहिले भन्ने स्पष्ट हुनुपर्छ,” भन्दै केसीले १७ बुँदे धारणा प्रस्तुत गरेका थिए। उनले सोधेका थिए, “के त्यो समय २०८२ सालको मंसिर हो, कि २०८३ को मंसिर? वा संविधानले दिएको ६ महिनासम्मको म्याद र विशेष परिस्थिति पनि कुर्ने हो?”

उनले स्थानीय तहको निर्वाचनको मुखमा महाधिवेशन गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई पनि उठाउँदै त्यसले पार्टीको वैधानिकतामाथि संकट ल्याउन सक्ने चेतावनी दिए। “निर्वाचनपछि महाधिवेशन गर्ने भन्ने कुरा कहिलेकाहीं उठ्ने गरेको पाइन्छ, तर त्यो त संविधान र कानुनविपरित हुन्छ,” उनले स्पष्ट पारे।

केसीले पार्टीको साख र वैधानिकता जोगाउनका लागि महाधिवेशन २०८२ मंसिरभित्रै सम्पन्न गर्नुपर्ने माग गर्दै यसै केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति तोक्न अनिवार्य भएको धारणा राखेका थिए।

पार्टीभित्र महाधिवेशनको मितिका विषयमा स्पष्टता नआएको अवस्था र कार्यकर्ताबीच बढ्दो अनिश्चितताबीच केन्द्रीय समिति बैठकको निर्णयप्रति कांग्रेसको ध्यान केन्द्रित भएको देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।