काठमाडौं । सन् २०२५ को पहिलो छ महिनामा नेपालले विदेशी पर्यटक आगमनमा उल्लेख्य संख्या कायम गरेको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि जुन महिनासम्म ५ लाख ७७ हजार ६ सय ८९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।
यस अवधिमा मासिक सरदरमा ९६ हजार २ सय ८१ पर्यटक नेपाल आएका थिए। यद्यपि, यो संख्या अघिल्लो वर्षको पहिलो छ महिनाको तुलनामा केही कम हो। सन् २०२४ को यही अवधिमा ५ लाख ८३ हजार ११ जना पर्यटक नेपाल आएका थिए।
सन् २०२५ को जुन महिनामा मात्रै ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्षको जुनमा भने यो संख्या ७६ हजार ७३६ रहेको थियो।
पर्यटन बोर्डका अनुसार जुन महिनामा नेपाल भित्रिने पर्यटकमध्ये भारतबाट सबैभन्दा धेरै ३२ हजार ६६२ जना आएका छन्। अमेरिका ९ हजार ६९६ पर्यटकका साथ दोस्रो स्थानमा छ भने चीनबाट ६ हजार ७३६ जना पर्यटक आएर तेस्रो स्थानमा छन्। यस्तै, बंगलादेशबाट ५ हजार ४४९ र बेलायतबाट २ हजार २८४ पर्यटक नेपाल आएका छन्।
अन्य शीर्ष आगन्तुक देशहरूमा अस्ट्रेलिया (१,८३१), मलेसिया (१,३४८), भुटान (१,१६७), जापान (१,०१९) र फ्रान्स (१,००२) रहेका छन्।
महिनावार विवरण हेर्दा, जनवरीमा ७९,९९१, फेब्रुअरीमा ९६,८८०, मार्चमा १ लाख २१ हजार ६८७, अप्रिलमा १ लाख १६ हजार ४९०, मेमा ८६,२१६ र जुनमा ७६,४२५ पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले यस्तो आगमन दरलाई आगामी दिनमा अझ वृद्धि गर्ने अपेक्षा गर्दै नयाँ प्रवर्द्धन रणनीति कार्यान्वयन गरिरहेको जनाएको छ।
Comment