काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु गम्भीर अपराध भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै डा. कोइरालाले संसदमा सर्वसम्मतिबाट पेस भएको विधेयकमा अनधिकृत हस्तक्षेप हुनु न केवल देश र जनताप्रति अपराध, तर सार्वभौम संसदप्रति समेत अपमान भएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो।”
डा. कोइरालाले यस घटनामा संलग्नलाई तुरुन्त हदैसम्मको कारबाही गर्न माग गर्दै, परिवर्तन गरिएका व्यवस्था फिर्ता गरी विधेयकलाई यथास्थितिमा फर्काउन आग्रह गरेका छन्। साथै, विधेयकमा ‘कुलिङ पिरियड’ बिना कुनै पनि कामकारबाही अघि नबढाउन चेतावनीसमेत दिएका छन्।
उनको अभिव्यक्तिले संसदको स्वायत्तता र विधेयक निर्माण प्रक्रियाको पारदर्शितामाथि उठेका प्रश्नलाई झन् तीव्र बनाएको छ।
Comment