काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा नेपालका लागि राजदूत प्रो. अनिल सुकलालबीच मंगलबार काठमाडौंमा भेटवार्ता सम्पन्न भएको छ।
महासंघ सचिवालयमा सम्पन्न भेटमा अध्यक्ष ढकालले नेपालमा विशेष गरी पर्यटन, पूर्वाधार, कृषि प्रशोधन, जलविद्युत् र सूचना प्रविधि क्षेत्रमा लगानीका उत्कृष्ट सम्भावना रहेको उल्लेख गर्दै दक्षिण अफ्रिकी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न राजदूत सुकलालसँग आग्रह गरे।
ढकालले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापार हाल सीमित भए पनि विस्तारको प्रचुर सम्भावना रहेको बताए। उनले नेपालमा रिसोर्ट, वेलनेस सेन्टर, एड्भेन्चर तथा इको–टुरिजममा लगानी गर्न अनुकूल वातावरण रहेको र नेपाल प्राकृतिक सौन्दर्यले सम्पन्न गन्तव्य भएको बताए।
अध्यक्ष ढकालले नेपाल सरकारले हालै वैदेशिक लगानीसँग सम्बन्धित ३० भन्दा बढी कानुन संशोधन गरेको जानकारी दिँदै ती सुधारहरूले लगानी प्रक्रिया सरल र नाफा फिर्ता लैजान सहज बनाएको उल्लेख गरे। महासंघकै पहलमा द्विपक्षीय लगानी सम्झौताको खाका स्वीकृत भएको र यसले विदेशी लगानीकर्ताहरूमा विश्वास बढाउने विश्वास पनि उनले व्यक्त गरे।
राजदूत सुकलालले नेपाल–दक्षिण अफ्रिका बीचको व्यापार तथा लगानी सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पर्यटन क्षेत्रमा विशेष सम्भावना रहेको उल्लेख गर्दै नेपाल र दक्षिण अफ्रिकाले हातेमालो गरेर उल्लेखनीय काम गर्न सक्ने विश्वास व्यक्त गरे।
दुवै देशको विशेषता र जैविक विविधताले पर्यटनको माध्यमबाट आपसी सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने उनले बताए। “जस्तै दक्षिण अफ्रिकाको वन्यजन्तु पर्यटन विशिष्ट छ, त्यसैगरी नेपालको भू–परिवेश, सांस्कृतिक सम्पदा र जैविक विविधता पनि अनुपम छन्,” सुकलालले भने।
वर्तमानमा नेपालले दक्षिण अफ्रिकाबाट अन्न, फलफूल, पेय पदार्थ तथा मेसिनरी आयात गर्दै आएको छ भने नेपालबाट कार्पेट, तयारी कपडा र फलामजन्य सामग्री निर्यात गरिँदै आएको छ।
भेटमा नेपालका लागि दक्षिण अफ्रिकाका महावाणिज्यदूत तथा महासंघका पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठको पनि सहभागिता रहेको थियो। भेटवार्ताले दुई देशबीचको व्यापार, लगानी तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।
Comment