इरान । इरानको फोर्डोस्थित आणविक केन्द्रमा हालै भएको अमेरिकी आक्रमणपछि पनि उक्त केन्द्रको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको प्रारम्भिक गुप्तचर मूल्याङ्कनले संकेत गरेको छ।
अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको पेन्टागनको सुरक्षा इन्टेलिजेन्स रिपोर्टलाई उद्धृत गर्दै क्यानडेली सञ्चार संस्था सीबीसी लगायत अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले रिपोर्ट सार्वजनिक गरेका हुन्। रिपोर्टअनुसार, यद्यपि केन्द्रको बाह्य संरचना आंशिक रूपमा क्षतिग्रस्त भएको भए पनि त्यसलाई एक महिनाको अवधिमा पुनः सञ्चालन योग्य बनाइने सम्भावना देखिएको छ।
तर, उक्त रिपोर्टप्रति ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यालोलिन लेभिटले आपत्ति जनाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै यो रिपोर्ट अमेरिकी गुप्तचर संयन्त्र र राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वसनीयता घटाउने नियतसहित तयार पारिएको दाबी गरेकी छन्।
“हजारौं पाउन्डका बम सिधै निसानमा प्रहार हुँदा के हुन्छ भन्ने सबैले बुझ्न सक्छन्,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
प्रारम्भिक मूल्याङ्कन अनुसार, फोर्डो केन्द्रको बाहिरी भागमा आक्रमणको असर देखिए पनि उक्त केन्द्रको गहिरो सुरुङमा रहेको मुख्य भागमा अपेक्षित क्षति नपुगेको उल्लेख गरिएको छ। रिपोर्ट र लेभिटको भनाइबीच स्पष्ट अन्तर देखिएको छ, जसले आगामी दिनमा आणविक कार्यक्रम र अमेरिकी प्रशासनबीचको सम्बन्धलाई अझ पेचिलो बनाउने संकेत दिएको छ।
Comment