‘बेइमान र गन्हाएका शक्तिसँग अब सहकार्य गर्दिनँ’ – डा. बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अब आफूले बेइमान र गन्हाएका राजनीतिक शक्तिसँग कुनै पनि प्रकारको सहकार्य नगर्ने स्पष्ट घोषणा गरेका छन्।

मंगलबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले स्वच्छ छवि र वैकल्पिक राजनीतिक शक्तिसँग भने सहकार्य गर्न सकिने धारणा व्यक्त गरे। “हामी जनताका मुद्दामा सहकार्य गर्छौं। तर मुख्य रूपमा जो बेइमान, गन्हाएका छन्, तीसँग हामी सहकार्य गर्दैनौं,” भट्टराईले भने, “तर जो नयाँ, वैकल्पिक, स्वच्छ छविका छन्, त्यस्ता कुनै पनि शक्तिसँग हामी सहकार्य गर्न सक्छौं।”

उनले सहकार्यका लागि पार्टीले वार्ता समिति गठन गरिसकेको र सो समितिले विभिन्न सम्भावित राजनीतिक शक्तिहरूसँग संवाद अघि बढाइरहेको जानकारी पनि दिए।

भट्टराईले आफू सत्तामा रहँदा कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै भ्रष्टाचारका आरोपलाई खण्डन गरे। उनले भने, “हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हो नानु भन्नेजस्तो विज्ञापन गर्ने कुरा गर्नु हाँस्यास्पद हुन्छ। बाबुराम भट्टराईले कहीँकतै एक रुपैयाँ राज्य वा समाजलाई नोक्सान हुने गरी काम गरेको छ भने म अहिल्यै चुनौती दिन्छु।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आफू सधैं रेकर्डमै रहेको व्यक्ति भएको भन्दै सबैभन्दा पहिला आफूलाई नै छानबिन गरिनु पर्ने सुझाव बारम्बार दिँदै आएको बताए। “त्यो गर्ने आँट कसैले गर्न सकेको छैन। त्यसैले अहिलेसम्म कसैले बाबुराम भट्टराईको विरुद्धमा औंला उठाउने हिम्मत गरेको छैन,” भट्टराईले जिकिर गरे।

उनको अभिव्यक्तिले आगामी राजनीतिक सहकार्य र गठबन्धनको संभावित स्वरूपमा बहस सिर्जना गरेको छ। आगामी निर्वाचनलाई ध्यानमा राख्दै स्वच्छ छविका शक्तिसँगको सहकार्यतर्फ उन्मुख हुने संकेत भट्टराईको भनाइबाट झल्किएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।