काठमाडौँ । प्रतिनिधि सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट बहुमतले पारित गरेको छ। मंगलबार बसेको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ प्रस्तुत गर्दै पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए, जसलाई बहुमतले अनुमोदन गरेको हो।
तर बजेट पारितको संवेदनशील प्रक्रियामा प्रतिनिधि सभाका दुई प्रमुख दल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने अनुपस्थित रहे। दुबै दल भिजिट भिसा प्रकरणलाई लिएर असन्तुष्टि जनाउँदै संसद बैठक बहिष्कार गर्दै आएका छन्। उनीहरूले उक्त प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग गर्दै जेठ १४ गतेदेखि निरन्तर नाराबाजी गरिरहेका छन्।
सरकारले प्रस्तुत गरेको चालू आर्थिक वर्षको बजेट विनियोजन विधेयकमार्फत पारित भएपछि अब मन्त्रालय तथा निकायहरूलाई विनियोजित बजेट खर्च गर्ने बाटो खुलेको छ। तर प्रमुख प्रतिपक्षी दलहरूको बहिष्कारबीच पारित भएको बजेटमाथि राजनीतिक टिप्पणी पनि भइरहेको छ।
बजेट बहसका क्रममा उठेका विभिन्न प्रश्न, संशोधन प्रस्ताव र दलहरूको धारणा उल्लेख गर्दै अब बजेट कार्यान्वयनका पक्षमा संसदको नजर रहने देखिएको छ। विपक्षी दलको अनुपस्थितिले सरकार र संसदबीचको सहकार्यमा केही असहजता ल्याउने विश्लेषकहरूको बुझाइ छ।
Comment